-विनोद श्रेष्ठ
पछिल्लो समय रोजगारीको नाममा यूएई लगाएत अन्य खाडी मुलुक भिजिट भिसामा जाने नेपालीको संख्या ह्वात्तै बढेको पाईन्छ।नेपालमा बढ्दै गइरहेको बेरोजगारी र त्यसको शिकार बनेका नेपाली युवाहरु रोजगारी पाउने आशामा दलाल मार्फत लाखौ रकम तिरेर खाडी मुलुक छिरिरहेका छन्।
कोरोनाको महामारीपछि धराशायी बनेका विश्वको अर्थतन्त्र सबल हुदै आइरहेको बेला केही म्यानपावर व्यावसायी,ट्राभल्स एजेन्सी र (ब्रोकर) दलालहरु अहिले बिस्तारै सलबलाउन थालेका छन्।जसको माध्यमबाट सेटिङ मार्फत भिजिट भिसामा सजिलै नेपाली युवाहरु यूएई लगाएत अन्य खाडी मुलुक धमाधम गइरहेको पाईन्छ।
उनीहरुले बेरोजगार नेपाली युवाहरुलाई राम्रो काम लगाइदिने प्रलोभन देखाएर सेटिङ मार्फत भिजिट भिसामा पठाएर अलपत्र पार्न थालेका छन् ।बेरोजगारले आजित भएका नेपाली युवाहरुलाई (ब्रोकर) दलालले राम्रो काम लगाइदिने बहानामा लाखौं रकम अशुल्छन्।तर उनीहरुले न भने जस्तो काम दिन सक्छन्।न उठाएको रकम नै, अन्तमा दलाल सम्पर्क विहीन (फरार) हुन्छन्।पीडित झनै पीडित बन्छन्।पीडितसँग न काम गर्ने परमिट नै हुन्छ।न बस्ने भिसा।उनीहरुको समस्याहरु जटटिल बन्दै गएपछि विस्तारै बाहिर आउन थाल्छन् ।विभिन्न म्यानपावर व्यावसायी,ट्राभल्स एजेन्सी र ब्रोकरहरुको मेलेमतोमा दुई पक्षिय सम्झौता अनुरुप काम नपाएपछि केही नेपालीहरुको समस्या बाहिर आएको हो।
खाडी मुलुक अन्तर्गत यूएईमा पछिल्लो समय (ब्रोकर) दलालले मोटो रकम लिएर भिजिट भिसामा यूएईका प्रतिष्ठित कम्पनीहरुको नक्कली अफर लेटर देखाएर भिजिटमा यूएई पठाउने, कन्स्ट्रक्सन र लेबर सप्लाई कम्पनीहरुमा महिनाको ८ सय देखी १ हजार दिर्हाम तलबमा काम लगाउने उदारहणहरु प्रशस्तै भेटिन्छन्।यूएई आईसके पछी धम्क्याएर जस्तो सुकै काम गर्न तयार हुन दबाब दिने गरेको पाइन्छ। भने कतिपयले जागीर लगाइ दिए बापत एक महिनाको तलब पनि लिने गरेका छन्।
काठमाडौंबाट गत २ हप्ता पहिले यूएईको एक प्रतिष्ठित अल्मराई कम्पनीमा काम लगाईदिने भन्दै सप्तरीका मोहम्मद नुरुल सलाउद्दीन,इझारूल हक र जीव्छ साहलाई प्रतिव्यक्ति २ लाख ५० हजार रुपैयाँ लिएर एक महिने भिजिट भिसामा यूएई पठाइयो।एजेन्टले अल्मराई कम्पनीबाट तीस जनाको डिमाण्ड आएको भन्दै उनीहरुलाई चाडै जान भन्यो।उनीहरुलाई यूएई पठाउने एजेन्ट सिराहाका मोहम्मद मियाँ थिए।तर उनीहरुसँग भएको सबै कागजपत्र नक्कली भएकोले एजेन्ट मियाँले भनेजस्तो उनीहरुले काम पाएनन्।एजेन्ट मियाँले उनीहरुलाई नक्कली अफर लेटर बनाएर पठाएको रहेछ।उनीहरुको यूएई बस्न पाउने समय अवधि अब १४ दिन बाँकी छ।दुबईमा उनीहरु अहिले अलपत्र अबस्थामा छन्।यस्तो गैर कानूनी कार्यमा नेपालका म्यानपावर व्यावसायी, केही ट्राभल्स एजेन्सी र तिनका एजेन्टहरु नै सन्लग्न रहेका छन् ।
तसर्थ आफ्नो सुनौलो भविष्य बोकेर दलाललाई मोटो रकम बुझाई सेटिङ मार्फत भिसिट भिसामा यूएई लगाएत अन्य खाडी मुलुकमा आउनु भनेको आफ्नै खुट्टामा आफैले बन्चरोले हान्नु सरह हो। त्यसैले विना अनुभव,दक्षता र तालिम नपाएकाहरुले भिजिट भिसामा काम पाउनु भनेको प्रायः असम्भव नै हुन्छ।त्यसमाथी कानुनी जटिलता लगाएत अन्य समस्यास जस्तै बिरामी परेर अन्ततः मृत्यु नै हुन पुग्यो भने त झन् पारिवारिक समस्या हुने निश्चित हुन्छ।
त्यसैले नेपाल सरकारले तोके बमोजिम इजाजत प्राप्त म्यानपावर एजेन्सीबाट सरकारी मापदण्ड अनुसार श्रम स्वीकृति र बिमा गरेर बैदेशिक रोजगारीमा आउनु पर्छ।यसरी आउंदा पनि सबै सपना पूरा भैहाल्छ भन्ने कुनै ग्यारेन्टी छैन ।तर बाइचान्स कुनै त्यस्तो जटिल समस्या आइहाल्यो भने रोजगारदाताले समस्या समाधान गर्न सक्छ।यदी रोजगारदाता वा समन्धित कम्पनीले कामदारको समस्या समाधान गरेन भने र नेपाल सरकारले आवश्यक पहल गर्ने बाटो खुल्ला हुन्छ।बिमा कम्पनीले क्षतिपूर्ति दिन्छ जसले केही मात्रामा भए पनि परिवारलाई राहत मिल्छ।
नेपालबाट बिना श्रम स्वीकृति वैदेशिक रोजगारको लागि कुनै पनि देश जानू भनेकै आफ्नो जिवन कष्टकर बनाउनु हो,भनेर सबैले बुझ्न आवश्यक छ ।भिजिट भिसा भनेको भ्रमण गर्ने (घुम्ने) अनुमति पत्र हो।काम गर्ने परमिट हैन।त्यसैले आजैबाट भिजिट भिसामा आएर काम खोज्नु हुदैन भनेर सचेत बनौं।सबैलाई निरुत्साहित गरौ ।



