Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगार

पछिल्लो १० वर्षमा वैदेशिक रोजगारीमा गएका १० हजार बढीको मृत्यु

पछिल्लो १० वर्षमा वैदेशिक रोजगारीमा गएका १० हजार बढीको मृत्यु

‘यो अवधिमा १० हजार १४९ जना पुरुष र २८१ जना महिलाको ज्यान गएको छ’

आइतवार, जेठ २५ २०८२
  •  

    • दुई हजार ३८० जना बिरामी भएर, दुई हजार १४ जना प्राकृतिक कारण, एक हजार ६५८ जना हृदयघात, एकहजार २४३ जना सडक दुर्घटनामा मृत्यु भएको देखिन्छ

    • १० वर्षे अवधिमा सबैभन्दा बढी आव २०७८/७९ मा एक हजार ५१२ जनाको मृत्यु

    • पछिल्लो तीन आर्थिक वर्षमा वैदेशिक रोजगारीमा मृत्यु भएकामध्ये सबैभन्दा बढी मधेश प्रदेशबाट गएकाहरु 

    काठमाडौं ।  पछिल्लो १० आर्थिक वर्षमा वैदेशिक रोजगारीमा गएका १० हजारभन्दा बढी नेपालीको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । वैदेशिक रोजगार बोर्डले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार २०७१/७२ यता वैदेशिक रोजगारीमा पुगेका १० हजार ४२० जना नेपालीको मृत्यु भएको हो ।

    images

    बोर्डले सार्वजनिक गरेको तथ्यांकमा यो अवधिमा १० हजार १४९ जना पुरुष र २८१ जना महिलाको ज्यान गएको छ । आर्थिक वर्ष २०७१/७२ देखि २०८०/८१ मा दुई हजार ३८० जना बिरामी भएर, दुई हजार १४ जना प्राकृतिक कारण, एक हजार ६५८ जना हृदयघात, एकहजार २४३ जना सडक दुर्घटनामा मृत्यु भएको देखिन्छ ।

    यसैगरी एकहजार २२७ जना आत्महत्या गरेर र ५८० जनाको कार्यस्थल दुर्घटनाका कारण मृत्यु भएको छ । यस अवधिमा एक हजार ६१ जनाको अन्य कारणले मृत्यु भएको छ र जसमा १० प्रतिशतको कोरोना महामारी, तीन प्रतिशतको क्यान्सर र एक प्रतिशतको मिर्गौलामा समस्या भएर ज्यान गएको छ । २२५ जनाको मृत्युको कारण खुल्न सकेको छैन ।

    सम्बन्धित देशको दूतावासले जारी गरेको ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी)मा उल्लेखित मृत्युको कारणको आधारमा बोर्डले उक्त तथ्यांक सार्वजनिक गरेको जनाएको छ । १० वर्षे अवधिमा सबैभन्दा बढी आव ७८/७९ मा एक हजार ५१२ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ ।

    बोर्डले पछिल्लो आठ वटा आर्थिक वर्ष (२०७३/७४देखि २०८०/८१) मा मृत्यु भएकामध्ये पाँच हजार ७४९ जनाको शव नेपाल ढुवानी गरेको जनायो । उक्त आठ वर्षमा आठ हजार ५८७ जनाको मृत्यु भएको थियो । मृत्यु भएकामध्य झण्डै ६७ प्रतिशतले बोर्डमार्फत शव झिकाएका हुन् । रोजगारीमा मृत्यु भएका श्रमिकको शव झिकाउन बोर्डबाट सहयोग माग्नेको संख्या पनि बढेको छ । 


    आर्थिक वर्ष    वैदेशिक रोजगारीमा मृत्यु
    २०७१/७२     १००६
    २०७२/७३     ८२७
    २०७३/७४    ७६०
    २०७४/७५     ८३८
    २०७५/७६     ७८५
    २०७६/७७     ६८१
    २०७७/७८     १२७६
    २०७८/७९     १५१२
    २०७९/८०     १२७६
    २०८०/८१     १४५९


    सबैभन्दा बढी मधेश प्रदेशबाट जाने श्रमिक
    पछिल्लो तीन आर्थिक वर्षमा वैदेशिक रोजगारीमा मृत्यु भएकामध्ये सबैभन्दा बढी मधेश प्रदेशबाट गएकाहरु रहेका छन् । उक्त प्रदेशबाट जानेमध्ये एक हजार १५१ जनाले रोजगारीमा ज्यान गुमाएका छन् । मधेशबाट आव २०७८/७९ मा ३५५ जना, ७९/८० मा ३०६ र ८०/८१ मा ३४४ जनाको मृत्यु भएको छ । दोस्रोमा कोशी प्रदेश रहेको छ । उक्त तीन वर्षमा कोशीबाट गएकामध्ये एक हजार ९० जनाले ज्यान गुमाएका छन् । कोशीपछि सबैभन्दा बढी लुम्बिनी प्रदेशका एक हजार ५६ जनाले ज्यान गुमाएका छन् । उक्त अवधिमा गण्डकी प्रदेशका ६६८, बागमती प्रदेशका ५६३, कर्णालीका १९५ र सुदूरपश्चिमका १०७ जनाले वैदेशिक रोजगारीमा ज्यान गुमाएका छन् । 

    आर्थिक सहायता लिने बढे
    पछिल्लो पाँच आर्थिक वर्ष (२०७६/७७ देखि २०८०/८१) मा रोजगारिको सिलसिलामा बिरामी तथा अंगभंंग भएका एक हजार ७४७ जनाले आर्थिक सहायता लिएका छन् । सहायता लिनेमा एक हजार ६६५ जना पुरुष र ८२ जना महिला छन् । पछिल्लो पाँच आवमा बोर्डबाट यस्तो सहायता लिनेहरु क्रमश बढेको पाइन्छ । आव ७६/७७ मा १२ प्रतिशतले मात्र सहायता लिएकोमा त्यसपछि आव ७७/७८ मा ९, ७८/७९ मा १६, ७९/८० मा २५र ८०/८१ मा ३८ प्रतिशतले सहायता लिएका छन् । 

    यस अवधिमा सबैभन्दा बढी बिरामी भएर सहायता पाएका छन् भने हृदयघात भएर सहयोग लिने सबैभन्दा कम छन् । बोर्डले ४६० जना बिरामीलाई उपचार खर्च प्रदान गरेको छ । त्यसैगरी कार्यस्थल दुर्घटना भएर ३६२, मिर्गौलाका बिरामी २३१, क्यान्सर १५६, सडक दुर्घटना १६० र हृदयघातको समस्या भएका नौ जनालाई आर्थिक सहायता प्रदान गरेको छ । यसबाहेक अन्य समस्या भएका १६७ जना र कारण नखुलेको १९३ जनाले बोर्डबाट सहायता लिएका छन् ।

    प्रभाव अनलाइनबाट साभार 

     

     

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार