काठमाडौं । साउदीले एक साताको अवधिमा श्रम कानुन उल्लंघन गरेको भन्दै ११ हजार ७ सय ६३ जना अवैध आप्रवासीलाई देश निकाला गरेको छ । साउदी सुरक्षा बलले सोही अवधिमा १४ हजार ९ सय ८७ अवैध बसोबास गरेकालाई पनि पक्राउ गरेको छ ।
साउदीको सम्बन्धित सरकारी निकायहरूसँगको सहकार्यमा सुरक्षा बलले गरेको निरीक्षणका क्रममा उनीहरूलाई देश निकाला र पक्राउ गरिएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।
पक्राउ पर्नेमा रेसिडेन्सी कानुन उल्लंघन गर्ने ९ हजार २ सय १२, सीमा सुरक्षा कानुन उल्लंघन गर्ने ३ हजार ५ सय २ र श्रम कानुन उल्लंघन गर्ने १ हजार ८ सय ७३ जना रहेका छन् । मन्त्रालयका अनुसार कुल ११ हजार ७ सय ६३ जना नियम उल्लंघन गर्नेहरूलाई देश निकाला गरिएको छ भने १७ हजार ५ सय ६७ जना नियम उल्लंघन गर्नेहरूलाई यात्रा कागजातहरू प्राप्त गर्न उनीहरूको कूटनीतिक नियोगहरूमा पठाइएको छ ।
त्यहाँको सीमा पार गर्ने प्रयास गर्दा १ हजार २ सय ६८ जना पक्राउ पक्राउ परेका छन् भने उल्लंघन गर्नेहरूलाई यातायात, आश्रय र रोजगारी प्रदान गर्ने २३ जनालाई पनि पक्राउ गरिएको छ ।
घुसपैठ गर्ने, राज्य प्रवेशमा सहजीकरण गर्ने, ढुवानी, आश्रय दिने, कुनै सहयोग वा सेवा प्रदान गर्नेलाई १५ वर्षसम्म कैद र अधिकतम १० लाख साउदी रियाल जरिमानाको सजाय तथा सवारीसाधन र सम्पत्ति जफत गर्न सकिने मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय साउदीले भिसाको म्याद सकिएर लुकिछिपी बस्ने आप्रवासीलाई लक्षित गरी धरपकड अभियान तीव्र पारेसँगै गैरकानुनी रूपमा त्यहाँ कार्यरत सयौं नेपाली पनि पक्राउ परेका छन् । हाल उनीहरूलाई जेलमा राखिएको छ । जेल अवधि समाप्त गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी डिपोर्ट गर्ने गरिएको छ ।
साउदी नेपाली श्रमिकका लागि प्रमुख गन्तव्य देश हो । तर, यहाँको कानुन कडा छ । नियम कानुनका ’दयगतमा थाहा नहुँदा पनि वैदेशिक रोजगारीमा साउदीमा रहेका धेरै नेपाली श्रमिक फस्ने गरेका छन् ।
साउदीमा मदिरा सेवन, बिक्री वितरण तथा ओसारपसारलाई ठूलो अपराध मानिन्छ । बिक्री वितरणको मात्राका आधारमा ६ महिनादेखि वर्षौंवर्षसम्म जेल सजाय हुनसक्ने तथा जरिमाना पनि हुने भएकाले यस्तो कार्यमा नलाग्न र नलगाउन पनि दूतावासले साउदीस्थित नेपाली समुदायलाई आग्रह गरेको छ ।
अवैध रूपमा साउदीमा रहेका नेपाली तथा आप्रवासी कामदार स्वदेश फर्कनुपरे अनिवार्य रूपमा एक्जिट भिसा आवश्यक पर्छ । एक्जिट भिसा नभएसम्म कामदार स्वदेश फर्कन पाउँदैनन् । सम्बन्धित देशको दूतावासले अनुरोध गरेपछि साउदी सरकारले एक्जिट भिसा उपलब्ध गराउने गर्छ ।



