Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगार

नरेश गेलालको नेतृत्वमा संयुक्त व्यवसायी प्यानल घोषणा

नरेश गेलालको नेतृत्वमा संयुक्त व्यवसायी प्यानल घोषणा

बिहिवार, चैत्र २१ २०८१
  • काठमाडौं । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचनका लागि उम्मेदवार सार्वजनिक गरेको छ । मञ्चले लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको असन्तुष्ट पक्षलाईसमेत समेटेर ‘संयुक्त व्यवसायी समूह’को नाममा आफ्ना उम्मेदवारहरु सार्वजनिक गरेको हो । यो प्यानलमा नेकपा एकीकृत समाजवादीनिकट एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन पनि समाहित भएको छ ।

    यो समूहबाट संघको आगामी अध्यक्षका लागि नरेश गेलाललाई उम्मेदवार बनाइएको बुधबार आयोजित उम्मेदवार घोषणासभामा जानकारी दिइयो । लोकतान्त्रिक एसोसिएसन र माओवादी केन्द्रनिकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चको संयुक्त प्यानलबाटभुवनसिंह गुरुङको नेतृत्वमा उम्मेदवार घोषणा गरिसकिएको छ । एसोसिएसनले गणतान्त्रिकसँग तालमेल गरेकोमा असन्तुष्ट बनेकाहरु एमालेनिकट प्रगतिशीलसँग गठबन्धनमा लागेका हुन् ।

    images

    यही चैत्र २९ गते हुने निर्वाचनमा प्रगतिशील मञ्चले अध्यक्ष, तृतीय उपाध्यक्ष, कोषाध्यक्ष र पाँच सदस्य राखेको छ । एसोसिएसनका असन्तुष्ट पक्षले प्रथम उपाध्यक्ष, महासचिव र तीन सदस्य र समाजवादीनिकट संगठनले द्वितीय उपाध्यक्ष, सचिव र दुई सदस्य पाएको छ ।प्रगतिशील मञ्चका पूर्वअध्यक्ष तथा संघका पूर्वमहासचिवसमेत रहेका गेलालको नेतृत्वमा रहेको टिमको प्रथम उपाध्यक्षमा एलाइन्स ह्युमन रिसोर्स प्रालिका सुजितकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा इम्प्लोइमेन्ट लिंक प्रालिका मधुकर रिजाल र तृतीय उपाध्यक्षमा न्यु अल्फा एचआरका बैकुण्ठ वैभव पौडेलले उम्मेद्वारी दिएका छन् । गेलालको प्यानलबाट महासचिवमा डाइनामिक स्टाफिङ सोलुसनका कर्ण कटवाल, सचिवमा कन्फिडेन्ट इन्टरनेसनल म्यानपावरका अनिल बोगटी र सचिवमा कालिञ्चोक एचआरकी धनु सिञ्जाली मगर उम्मेदवार रहेका छन् ।

    त्यसैगरी सदस्यहरुमा माउन्टेन ग्रुपमा देउमान गुरुङ, ग्रोथ प्रोसेस इम्प्लोइमेन्टका राजेन्द्र बस्नेत, उज्यालो ओभरसिज प्रालिका चन्द्र लिम्बू, रियो ओभरसिजकी रमा खड्का, विनर एचआरकी हिमा गुरुङ, गल्फ इम्पेयरका दिनेश बस्नेत, आयुष ओभरसिजका कामेश्वर शाह राहुल, सिगल ओभरसिजका छत्र बस्नेत, डेस्टिनी ह्युमन रिसोर्सका युवराज देवकोटा र गल्फ एसिया म्यानपावरका राजेश यादव रहेका छन् ।

    घोषणा कार्यक्रममा बोल्दै संघका पूर्वअध्यक्ष विमल ढकालले गेलालको नेतृत्वमा बनेको टिम वैदेशिक रोजगारीका क्षेत्रमा देखापरेका समस्या समाधान गर्न सक्षम रहेको दाबी गरे । संघको नेतृत्व गर्ने व्यक्ति अनुभवी र व्यक्तित्व पनि परेको हुनुपर्ने भएकोले त्यो क्षमता गेलालमा भएको उनको भनाइ थियो । आफूले सर्वसम्मत कार्यसमिति बनाउन कोसिस गर्दा पनि सफल नभएको उनले बताए । ‘राजनीतिक प्रोपोगाण्डाले संघको नेतृत्वमा सही व्यक्ति आउन सकेको इतिहास छैन । सोच विचार गरेर मतदान गर्नुहोला,’ उनले व्यवसायीहरुलाई भने । 

    संघका महासचिव मेघनाथ भुर्तेलले एसोसिएसनको हालको नेतृत्वले कार्यसमितिको हिसाबले आधिकारिक निर्णय गरेको तर संस्थाको संरचना विपरीत ७५ प्रतिशत सदस्यलाई बाइपास गरेर एकलौटी निर्णय गरेको कुरा चित्त नबुझेको बताए । ‘पार्टी सभापतिसँग हामी ३०–४० जना जति गएर कुरा गर्दा पार्टीको नीति जे छ त्यही गर्नू, त्यही नै आधिकारिक हो भनेकाले पार्टीको निर्देशनअनुसारको गठबन्धन बन्यो,’ उनले भने । आफूहरुको राजनीतिमा आस्था भए पनि पहिले व्यवसायी भएकाले व्यवसायीको मर्मलाई समेट्न यो प्यानल बनेको उनको भनाइ छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार