काठमाडौँ । इजरायलले दीर्घकालीन स्याहार केन्द्र केयरगिभरका लागि लैजाने कामदारको नाम छनोट गरेको छ । तर, इजरायलले नेपाली कामदार छनोट गरिसकेको जानकारी गराउदा पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भने आवेदन छानबिन नसकेको पाइएको छ।
गत बिहीबार जेरुसेलमस्थित जनसंख्या तथा अध्यागमन प्राधिकरण (पिवा) ले गोलाप्रथामार्फत २ हजार २ सय २ जना नेपाली कामदार छनोट गरेको हो ।
सरकारले गत असार १२ गते इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न सहायक कामदार (केयर गिभर) लागि आवेदन खुलाएको थियो। त्यसमा ४ हजार २४ जनाले आवेदन दिएका थिए। तीमध्ये ३ हजार ४ सय ६१ जनाको नामावली इजरायलको पिवामा पठाइएको छ ।
जसमा गोलाप्रथाबाट २ हजार २ सय ४ जना नेपाली कामदार छनोटमा परेको हो । नेपालस्थित इजरायली दूतावासका अनुसार छानिएकामध्ये १ हजार १ सय ९६ जना महिला र १ हजार ६ जना पुरुष छन्।
इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न जाने सहायक कामदारका लागि आवेदन दिएका कतिपय कामदारको कागतजात नक्कली भन्ने गुनासो आएपछि श्रम मन्त्रालयले उपसचिव मेघनाथ रिमालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेका थिए ।
इजरायल जाने कामदारले आवदेन दिँदा नक्कली कागतजात पेस गरेको प्रश्न उठेपछि मन्त्री शरतसिंह भण्डारीले साउन १३ गते छानबिन समिति गठन गरेका थिए। समिति गठन भएको एक महिना बित्दा पनि छानबिन आधा मात्रै सकिएको छ।



