काठमाडौं । वैदेशिक रोजगारीका लागि भिजिट भिसा मार्फत यूएई पुगेका अर्घाखाँचीका कृष्णप्रसाद पाण्डेको शव नेपाल ल्याउन आर्थिक अभावका कारण समस्या भएको छ ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७, काउले भोगका २४ वर्षीय कृष्णप्रसाद पाण्डे गत भदौ ९ गते यूएईको राजधानी आबुधावीमा मृत फेला परेका थिए । उनको शव सडक छेउँमा फेला परेको थियो । स्थानीय प्रहरीले सडक छेउँ फेला परेको पाण्डेको शव आबुधावीको अस्पतालमा बुझाएको थियो । उनको मृत्युको कारण भने खुलेको छैन ।
मृतकका दाइ शशिधर पाण्डेका अनुसार शव फिर्ता ल्याउन दुई लाख हाराहारी लाग्ने तर परिवारको आर्थिक अवस्था एकदमै कमजोर भएकाले पैसा जुटाउन समस्या भएको बताए । उनका अनुसार ०७२ सालको भूकम्पमा घर भत्किएपछि परिवार भारतमा मजदुरी गरेर बसिरहेको छ । मृतक पाण्डेका बुबा–आमा र श्रीमती भारतमा छन् । परिवारको अवस्था यति नाजुक छ कि, नेपाल समेत आउन सक्ने अवस्था छैन, उनले भने, यस्तोमा पैसा बुझाएर शव कसरी झिकाउनु ?
अहिले आफूहरु शव ल्याउन आर्थिक संकलन गर्न लागेको उनले बताए । यसका लागि उनले आर्थिक सहयोग गरिदिन सबैलाई आग्रह गरेका छन् ।
यता बल्कोट अर्घाखाँची सम्पर्क समाज यूएईका अध्यक्ष तथा पत्रकार उमाकान्त पाण्डेका अनुसार कृष्णको शव जतिसक्दो चाँडो नेपाल पठाउने तयारी भइरहेको बताए । बल्कोट अर्घाखाँची सम्पर्क समाज र अर्घाखाँची सम्पर्क समाज यूएईले अर्थ संकलन गरि दूतावासमा बुझाई सकेको र नेपाली दूतावास, सम्बन्धित कम्पनीले समन्वय गरेर यसै साता शव नेपाल पठाउन तयारी भइरहेको अध्यक्ष पाण्डेले बताए ।



