काठमाडौं । कुवेत सरकारले दिएको आममाफीबाट ६५ हजार अवैध कामदार लाभान्वित भएका छन् । भने विभिन्न कारण अवैध रूपमा कुवेत बस्दै आएका ४ हजार ६५० जना आप्रवासी कामदारलाई डिपोर्ट गरिएको कुवेतको आन्तरिक मन्त्रालय रेसिडेन्सी मामिला महानिर्देशनालयले जनाएको छ ।
महानिर्देशनालयका प्रमुख ब्रिगेडियर युसुफ अल अयुबका अनुसार पक्राउ परेका सबै जनालाई देशबाट डिपोर्ट गरिएको र पुनः कुवेत प्रवेशमा प्रतिबन्ध लगाइएको बताए ।
कुवेत सरकारले यस वर्षको सुरुमा अवैध आप्रवासी कामदारलाई आफ्नो स्थिति समायोजन गर्न वा निर्वासनको सामना गर्न तीन महिनाको समय दिएको थियो । सो समय भित्र ६५ हजार आप्रवासी कामदार लाभान्वित भएको बताइएको छ ।
कुवेतमा १ लाख ७ हजार नेपाली कामदारहरू कार्यरत रहेको नेपाली दूतावासले जनाएको छ । जस मध्ये ५७ जना नेपालीले जेल जीवन बिताइरहेका छन् । अधिकांश लागूऔषध ओसारपसार तथा बेचबिखनमा संलग्न रहेका कारण जेल जीवन बिताइरहेका छन् भने बाँकी चोरी, डकैती, झैझगडा र कानुन उल्लंघन गरेका कारण जेल परेका छन् ।
जेल सजाय सकिएपछि पुनः कुवेत फर्कन नपाउने गरी कुवेत सरकारले उनीहरूलाई डिपोर्ट गर्दै आएको छ ।



