काठमाडौँ । विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सबाट केही मिनेटमै ६ अर्ब ३० करोड अमेरिकी डलर बराबरको डिजिटल मुद्रा चोरी भएको घटनामा उत्तर कोरियाली ह्याकरहरूको सङ्लग्नता रहेको अमेरिकी सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई) ले जनाएको छ । यसलाई क्रिप्टोकरेन्सी इतिहासकै सबैभन्दा ठूलो चोरी मानिएको छ ।
एफबीआईले शनिबार जारी गरेको विज्ञप्तिमा यस साताको साइबर आक्रमण ‘ट्रेडरट्रेटर’ नामक समूहको दुर्भावनापूर्ण साइबर गतिविधिसँग सम्बन्धित रहेको जनाएको छ । यही समूह गत वर्ष क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइबिटबाट एक अर्ब ५० करोड अमेरिकी डलर चोरी भएको घटनामा पनि सङ्लग्न रहेको एफबीआईको दाबी छ ।
ब्युरोले क्रिप्टोकरेन्सी एक्सचेन्ज, ब्लकचेन विश्लेषण गर्ने कम्पनीलगायत सम्बन्धित निकायलाई चोरीसँग जोडिएका विभिन्न डिजिटल ठेगानामा हुने कारोबार रोक्न आग्रह गरेको छ । चोरी भएको रकमको स्रोत लुकाउन त्यसलाई विभिन्न माध्यमबाट स्थानान्तरण गरी शुद्धीकरण गर्ने प्रयास हुन सक्ने भन्दै एफबीआईले सतर्कता अपनाउन आग्रह गरेको हो ।
एफबीआईका अनुसार अनुसन्धानका क्रममा ट्रेडरट्रेटरले चोरी भएका डिजिटल सम्पत्तिलाई मुख्यतः इथेरियम क्रिप्टोकरेन्सीमा रूपान्तरण गरिरहेको पाइएको छ । समूहले अब विकेन्द्रीकृत वित्तीय सेवा ९डीएफआई० र तत्काल क्रिप्टोकरेन्सी साट्ने सेवामार्फत ती सम्पत्ति रूपान्तरण गर्ने प्रयास गर्न सक्ने ब्युरोको अनुमान छ ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरिया यस घटनामा सङ्लग्न भए–नभएकोबारे आफूहरू अझै निश्चित नभएको बताए।



