काठमाडौं । वैदेशिक रोजगारीबाट बिदामा नेपाल आएका र पुनः वैदेशिक रोजगारीमा फर्कन लागेका श्रमिकको श्रम स्वीकृति प्रक्रियामा सहजीकरण गरिने भएको छ । वैदेशिक रोजगार विभागले हवाई टिकट लिइसकेका तर श्रम स्वीकृति नवीकरण नभएका श्रमिकलाई लक्षित गर्दै यस्तो व्यवस्था गरेको हो । विभागले श्रम स्वीकृति नहुँदा हवाई उडान छुट्न सक्ने अवस्थालाई ध्यानमा राख्दै हवाई टिकट रद्द नगर्न र श्रम स्वीकृति प्राप्त भएपछि मात्रै उडान गर्न आग्रह गरेको छ ।
विभागले हवाई टिकट लिइसकेका श्रमिकलाई उडान हुनुभन्दा कम्तीमा तीन दिनअघि आवश्यक कागजातसहित अनलाइनमार्फत पुनः श्रम स्वीकृतिका लागि आवेदन दिन अनुरोध गरेको छ । विभागले श्रम स्वीकृतिका लागि आवेदन दिएपछि पनि समस्या आएमा तत्काल समाधानका लागि सम्पर्क गर्न आग्रह गरेको छ ।
यसका लागि विभागले शाखा अधिकृत सुरेश श्रेष्ठलाई सम्पर्क व्यक्ति तोकेको छ । श्रमिकले ९७६५९९८४७३ नम्बरमा फोन वा ह्वाट्सएपमार्फत सन्देश पठाउन सक्नेछन् । विभागले श्रम स्वीकृतिका कारण विदेश फर्कने क्रममा श्रमिकले भोग्नुपरेको असुविधा कम गर्न यस्तो व्यवस्था गरेको जनाएको छ ।




