काठमाडौं ।कतार एअरवेजको चालक दलका एकजना सदस्य त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुनसहित पक्राउ परेका छन् ।
हिजो दिउँसो साढे २ बजे कतारको दोहाबाट आएको कतार एअरवेजको उडान नम्बर क्युआर ६५० का एकजना क्र्यु मेम्बरको ह्याण्ड लगेजबाट सुन फेला परेपछि भन्सारमा बुझाइएको बताइन्छ ।
स्रोतका अनुसार मेरिआम घाजौनी ह्यान्ड लगेजका साथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको वाक–थ्रु गेटबाट निस्कने क्रममा सुनको बिस्कुट आकारका २० ग्राम तौल भएका २ थान पहेँलो वस्तु फेला परेको थियो ।
सशस्त्र प्रहरी बल, नेपाल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको संयुक्त टोलीले उक्त वस्तु बरामद गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाएको हो ।
काठमाडौं विमानस्थलमा हाल सशस्त्र प्रहरी बलको चक्रेश्वर गण कार्यरत छ ।



