काठमाडौं । रुसी सेनामा कार्यरत पाँच दर्जन भन्दा बढी नेपालीले ज्यान गुमाएको अनुमान गरिएको छ ।
हाल चलिरहेको छानबिनबाट पुष्टि भए रुस-युक्रेन युद्धमा मारिने नेपालीहरूको संख्या ३ दर्जनबाट बढेर पाँच दर्जन नाघ्न सक्छ। योसँगै रुसी सेनाको तर्फबाट युद्धमा ज्यान गुमाउनेहरूको संख्या पनि बढ्ने देखिएको हो।
रुस–युक्रेन युद्धमा हालसम्म ३९ जना नेपालीहरू मारिएको आधिकारिक रूपमा पुष्टि भइसकेको छ।
तर, पछिल्लो समय रुसले मस्कोस्थित नेपाली राजदूतावासलाई युक्रेनसँगको युद्धमा मारिएका थप २२ नेपालीको डीएनए परीक्षण भइरहेको जनाएपछि मृत्यु हुनेको बढ्न सक्ने अनुमान गरिएको छ ।
‘सेनाको प्रक्रिया अनुसार उनीहरूले डीएनए टेस्ट गरेका हुन्,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘तर उनीहरू नेपाली नै हुन् भन्ने जानकारी आएको छ।’ अहिले डीएनए परीक्षण हुँदै गरेका सैनिकहरू सबै नेपाली रहेको पुष्टि भए रुस–युक्रेन युद्धमा मारिने नेपालीहरूको संख्या ६१ पुग्नेछ।
मृत्युको आधिकारिक पुष्टि भएका ३९ नेपालीबाहेक ६ जना नेपालीहरू युक्रेनको कब्जामा छन्।
१ सय ७० जना फिर्ता
हालसम्म १ सय ७० जना नेपालीहरू रुसी सेनाबाट स्वदेश फिर्ता भइसकेका छन् र केही नेपालीहरू फिर्ता हुने प्रक्रियामा छन्। परराष्ट्र मन्त्रालयका अनुसार यो संख्या मस्कोस्थित नेपाली राजदूतावासबाट आवश्यक कागजात बनाएर फिर्ता हुनेहरूको आधिकारिक तथ्यांक हो।
स्रोतका अनुसार ‘राहदानी साथमा नहुनेहरू आवश्यक कागजातका लागि दूतावास पुग्ने गरेका छन्,’ ‘दूतावाससँग सम्पर्क नगर्नेहरूको संख्या जोड्दा करिब तीन सय पुग्ने अनुमान छ।’ रुसी सेनामा भर्ती भई स्वदेश फर्कन इच्छुक अधिकांश नेपालीहरू आगामी कातिक–मंसिरभित्र नेपाल आइपुग्ने भएका छन्।
नागरिकता लिइदिँदा समस्या
युक्रेनसँगको युद्ध लम्बिने देखिएपछि रुसले विदेशी नागरिकहरूलाई सेनामा भर्ती लिने नीति अख्तियार गरेको थियो। यसका लागि एक वर्ष रुसी सेनामा बिताएपछि सम्बन्धित व्यक्ति र उसका परिवारलाई रुसी नागरिकता लगायतका सुविधा दिने घोषणा समेत उसले गर्यो।
यस्तो घोषणापछि केही नेपालीहरूले रुसी नागरिकता लिएका छन्। नागरिकता नै लिएका कारण उनीहरूलाई रुसी सेनाबाट फिर्ता गर्न असम्भव रहेको परराष्ट्र मन्त्रालयको भनाइ छ।
‘आफ्ना नागरिकहरूलाई फिर्ता गरिदेऊ भन्न सजिलो हुन्छ,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘तर, रुसकै नागरिक भइसकेकाहरूलाई हाम्रा नागरिक हुन् भनेर कसरी फिर्ता गरिदेऊ भन्ने ?’
रुसी सेनामा भर्ती भएको जानकारी प्राप्त हुनासाथ नेपाल सरकार र मस्कोेस्थित नेपाली राजदूतावासले पहल सुरु गरेकाले आफ्ना अधिकांश नागरिक फिर्ता गर्न नेपाल सफल भएको ती अधिकारीले बताए।
तर, पहल ढिलो गरी सुरु गरेकाले दक्षिण एसियाली मुलुकहरू भारत र श्रीलंकाले भने नेपालको जस्तो सफलता प्राप्त गर्न सकेका छैनन्।



