Oct 28 2026 | २०८३ कार्तिक १२ गते

भोटेकोशी र त्रिशूली बाढीबारे वैज्ञानिक अध्ययन गर्न सांसद लामाको माग

भोटेकोशी र त्रिशूली बाढीबारे वैज्ञानिक अध्ययन गर्न सांसद लामाको माग

मंगलवार, आश्विन २० २०८३
  • काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले भोटेकोशी र त्रिशूली क्षेत्रको बाढी तथा विपद्को कारणबारे गम्भीर वैज्ञानिक अनुसन्धान गर्न सरकारसँग माग गरेकी छन्।

    सिंहदरबारमा मंगलबार बसेको ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्’सम्बन्धी संसदीय विशेष समितिको बैठकमा बोल्दै उनले विपद्का क्रममा देखिएको अस्वाभाविक रासायनिक गन्ध र पाउडरजस्तो पदार्थबारे सरकारको ध्यानाकर्षण गराएकी हुन्।

    images

    सांसद लामाले भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको बाढीले स्थानीय समुदायको थाँतथलो नै मेटिने गरी क्षति पुर्‍याएको भन्दै प्रभावितहरूलाई तत्काल सुरक्षित स्थानमा पुनस्र्थापित गर्न आग्रह गरिन्। बाढीका बेला देखिएको रासायनिक गन्ध र माटो वा बालुवाभन्दा फरक प्रकारको पाउडरको उपस्थितिबारे सरकारी तहबाटै वैज्ञानिक छानबिन हुनुपर्नेमा उनले जोड दिएकी छन्।

    धादिङ, गोरखा र नुवाकोटका त्रिशूलीपारीका बस्तीहरूलाई जोड्ने फुर्के खोलामा तत्काल बेलीब्रिजको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याउँदै सांसद लामाले भनिन्, ‘पहिलो, विपद्बाट प्रभावित समुदायको पहिचान र थातथलो संरक्षण हुने गरी सुरक्षित स्थानमा पुनस्र्थापना गर्न आवश्यक छ। साथै बाढीपछि देखिएको असामान्य गन्ध तथा पाउडरजस्तो पदार्थबारे वैज्ञानिक अध्ययन र परीक्षण गर्नुपर्छ। दोस्रो, फुर्के खोलामा तत्काल बेलीब्रिज निर्माण गरी धादिङ, गोरखा र नुवाकोटका नागरिकको आवतजावत सहज बनाउन आवश्यक छ। साथै तिप्लिङ–साँकोस–सोमदाङ सडकलाई दिगो रूपमा स्तरोन्नति गरी वैकल्पिक मार्गका रूपमा तयारी अवस्थामा राख्नुपर्छ।’

    बौद्ध धर्मावलम्बीहरूको परम्पराअनुसार मृतकको काजकिरियाका लागि स्थानीय तह र लामा गुरुहरूसँग समन्वय गरी सामुदायिक रूपमा ४९ दिनभित्र काजकिरिया सम्पन्न गर्ने व्यवस्था मिलाउन पनि उनले सरकारको ध्यानाकर्षण गराएकी छन्। अभिभावक गुमाएका बालबालिका र वृद्धवृद्धाहरूका लागि आश्रयस्थलको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।

    संस्कार र दीर्घकालीन संरक्षणबारे बोल्दै उनले थपिन्, ‘तेस्रो, मृतकका परिवारले परम्पराअनुसार काजकिरिया गर्न सक्ने गरी विशेष गरी बौद्ध समुदायका लागि ४९ दिनभित्र सामूहिक रूपमा आवश्यक संस्कार गर्ने व्यवस्था गर्न स्थानीय तहसँग समन्वय गर्नुपर्छ। चौथो, अभिभावक गुमाएका बालबालिका तथा सहारा गुमाएका वृद्धवृद्धाका लागि उनीहरूको इच्छाअनुसार राज्यले दीर्घकालीन संरक्षण र पुनस्र्थापनाको व्यवस्था गर्नुपर्छ। भविष्यमा यस्ता विपद् आएमा सरकारको तयारी अवस्था, विपद्को वास्तविक कारण तथा हिमताल फुट्नुका कारणबारे वैज्ञानिक अध्ययन आवश्यक छ।’

    समीक्षा बैठकमा सांसद लामाले पूर्वाधार निर्माणमा प्राविधिक आधार नमानी काम गर्दा विपद् निम्तिने गरेको उल्लेख गर्दै आगामी दिनमा डोजर संस्कृतिलाई निरुत्साहित गर्न सुझाव दिइन्। वैज्ञानिक र प्राविधिक प्रतिवेदनका आधारमा मात्र विकास निर्माणका काम अघि बढाउनुपर्नेमा उनले जोड दिइन्।

    राहत वितरणमा भइरहेको ढिलाइप्रति प्रश्न उठाउँदै उनले वास्तविक लाभग्राहीको पहिचान गरी यथाशीघ्र राहत रकम वितरण गर्न र सडक, पुल तथा ठूला पूर्वाधार निर्माण गर्दा स्थानीय दबाबभन्दा प्राविधिक अध्ययन, वैज्ञानिक मापदण्ड र जोखिम मूल्याङ्कनलाई अनिवार्य आधार बनाउन माग गरेकी छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार