Oct 28 2026 | २०८३ कार्तिक १२ गते

हालैको विपद्बाट मुलुकका पूर्वाधारमा २ खर्ब २७ अर्बको क्षति: सचिव मैनाली

हालैको विपद्बाट मुलुकका पूर्वाधारमा २ खर्ब २७ अर्बको क्षति: सचिव मैनाली

मंगलवार, आश्विन २० २०८३
  • काठमाडौँ । पछिल्लो बाढी, पहिरो तथा जलवायुजन्य विपद्का कारण मुलुकका पूर्वाधार संरचनामा २ खर्ब २७ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक क्षति पुगेको छ।

    पूर्वाधार विकास मन्त्रालयका सचिव पद्मकुमार मैनालीले सिंहदरबारमा आयोजित ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्’सम्बन्धी संसदीय विशेष समितिको बैठकमा उक्त जानकारी गराउँदै तत्काल पुनर्निर्माणका लागि ६३ अर्ब रुपैयाँ आवश्यक रहेको बताएका छन्।

    images

    विपद्ले पुर्‍याएको क्षतिको विस्तृत विवरण प्रस्तुत गर्दै सचिव मैनालीले आवास क्षेत्र, सडक सञ्जाल, पुल तथा खानेपानीसहितका पूर्वाधारमा ठुलो क्षति पुगेको जानकारी दिए। उनका अनुसार सबैभन्दा बढी क्षति आवास क्षेत्रमा भएको छ। ७ हजार ५७० निजी र ४८ वटा सार्वजनिक भवन गरी कुल १ खर्ब ३ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्षति भएको छ। यसैगरी सडक सञ्जालमा २० अर्ब, मोटरेबल पुलमा १३ अर्ब ८० करोड, झोलुङ्गे पुलमा २ अर्ब ६५ करोड र खानेपानी तथा सरसफाइ क्षेत्रमा ८७ अर्ब ८७ करोड रुपैयाँको क्षति भएको प्रारम्भिक आकलन गरिएको छ।

    कुल क्षति १ दशमलव ४८ बिलियन डलर (झन्डै २ खर्ब २७ अर्ब रुपैयाँ) पुगेको उल्लेख गर्दै सचिव मैनालीले जलवायु न्यायका लागि प्राप्त हुने वैदेशिक सहायताका सन्दर्भमा यो तथ्याङ्कले गम्भीर प्रश्न उब्जाएको बताए।

    उनले भने, ‘पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको प्रारम्भिक मूल्याङ्कनअनुसार भवन, सडक, मोटरेबल तथा झोलुङ्गे पुल र खानेपानी क्षेत्रमा गरी करिब २ खर्ब २७ अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान छ। यो प्रारम्भिक तथ्याङ्क हो र पीडीएनएपछि यकिन विवरण आउनेछ। कनेक्टिभिटी पुनःस्थापनालाई प्राथमिकतामा राखेर २० वटा क्षतिग्रस्त झोलुङ्गे पुलमध्ये १२ वटा मर्मत भइसकेका छन्।’

    भोटेकोशी तथा त्रिशूली क्षेत्रको यातायात पुनःसञ्चालनबारे बोल्दै उनले थपे, ‘बेत्रावती क्षेत्रमा बेलीब्रिज निर्माण भइरहेको छ र क्रमशः धुन्चे, स्याफ्रुबेसी हुँदै रसुवागढीसम्म सडक सम्पर्क पुनःस्थापित गर्ने काम अघि बढिरहेको छ। पुनस्र्थापनाका लागि जग्गा पहिचान भइसकेको छ। तत्काल करिब ३०० वटा ट्रान्जिसनल सेल्टर निर्माण गर्ने लक्ष्यसहित डिजाइन र निर्माणको तयारी भइरहेको छ। समग्र पुनर्निर्माणका लागि तत्काल करिब ६३ अर्ब रुपैयाँ आवश्यक रहेको जानकारी गराइएको छ। क्षतिको ठुलो आकारलाई ध्यानमा राख्दै राहत र पुनर्निर्माणलाई दीर्घकालीन योजनासहित अघि बढाउन आवश्यक छ।’

    कनेक्टिभिटी सुधारका लागि मन्त्रालयले युद्धस्तरमा काम गरिरहेको उनले दाबी गरे। त्रिशूली करिडोरमा अवरुद्ध सडक तथा बेलीब्रिज निर्माणलाई प्राथमिकतामा राखिएको छ। आगामी दसैँअघि नै पीडितहरूका लागि करिब ३०० वटा ट्रान्जिसनल सेल्टर (अस्थायी आवास) निर्माण गर्ने गरी गृहकार्य अघि बढेको उनले बताए। सरकारले विपद् प्रतिकार्य र पुनःस्थापनाको सुरुआती चरणका लागि ६३ अर्ब रुपैयाँको बजेट माग गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार