काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालको पदावधि एक वर्ष थप्न प्रस्ताव गरिएको छ ।
सशस्त्र प्रहरी हेड्क्वार्टरले एक वर्ष पदावधि थप्नुपर्ने प्रस्ताव अघिल्लो साता गृह मन्त्रालयमा पठाएको थियो ।
सशस्त्र प्रहरी नियमावली–२०७२ अनुसार एआईजीको पदावधि चार वर्षको हुन्छ । सरकारले चाहँदा १ वर्ष थप्न सकिने व्यवस्था छ । २०७९ असोजमा २८ मा मन्त्रिपरिषद्ले उनलाई एआईजीमा बढुवा गरेको ४ वर्ष पुरा हुँदै छ । मन्त्रिपरिषद्बाट म्याद थप्ने निर्णय नभए दाहाल असोज २८ देखि अवकाशमा जान्छन् ।
तत्कालीन सरकारले दाहाललाई बढुवा गर्नकै लागि सशस्त्रमा दरबन्दी थप गरेको थियो । त्यसैबेला सशस्त्रमा छुट्टै सीमा सुरक्षा विभाग स्थापना गरिएको थियो । सीमा सुरक्षा विभागको प्रमुखको रूपमा कार्यरत दाहालको म्याद थप्ने प्रस्ताव गृह मन्त्रालयबाट अघि बढेको छैन ।
म्याद थप्नुअघि उनी फौजको ‘चेन अफ कमाण्ड’ तोडेको गम्भीर विवादमा परेका छन् । पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा प्रहरीको नियन्त्रणमा हुँदा एआईजी दाहालले उनीसँग भेटेको आरोप छ ।
असोज ११ मा बिहान दाहालले टेकु स्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा गएर जबरासँग भेटघाट गरेका हुन् । अपराध अनुसन्धान कार्यालय स्रोतका अनुसार जबरालाई भेट्न उनी बिहान ३ बजे टेकु पुगे । जबरासँग भेटेर उनी ५ बजे निस्किएका थिए ।
अनुमति नलिईकन भेटेर ‘चेन अफ कमाण्ड’ तोडेको आरोपमा गृह मन्त्रालयले उनलाई कारबाही गर्न भनेको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार दाहाललाई स्पष्टीकरण सोधिएको छ ।
सम्पत्ति शुद्धीकरणको मुद्दामा पुर्पक्षमा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको मुद्दामा ‘सहजीकरण’ गर्न झापाका इनम सापकोटा मार्फत चोलेन्द्रले चलखेल गरेको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको छ । पक्राउ परेको केही घण्टामा छुटे पनि जबरासँग कनेक्सनमा देखिएका व्यक्तिहरूलाई प्रहरीले निगरानी गरिरहेको छ ।
प्रहरीको विशेष ब्यूरोले इनम सापकोटालाई दिल्ली जान लागेको अवस्थामा नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । प्रहरी कार्यालयमा चोलेन्द्रलाई भेट्न निर्वाचन आयुक्त सगुन शमशेर जबरा पनि टेकु पुगेका थिए ।
म्याद थप भएमा एआईजी दाहाल थप एक वर्ष सशस्त्रमा रहन्छन् । मन्त्रिपरिषद्ले उनको म्याद नथपे सशस्त्रमा डीआईजीबाट एआईजी बढुवा प्रक्रिया सुरु गरिने छ । बढुवा प्रतिस्पर्धामा सिसम–१ का सुरेश श्रेष्ठ, दीपेन्द्र शाह र पुरुषोत्तम थापा छन् ।
श्रेष्ठ मेरिट सूचीको पहिलो नम्बरमा छन् । सो ब्याचका अन्जनी कुमार पोखरेल एआईजी भइसकेका छन् ।



