काठमाडौँ । नेपाली कांग्रेसले परम्परागत कार्यशैली र सत्ताकेन्द्रित घेराबाट बाहिर निस्कँदै पार्टीलाई व्यवस्थापनमा अब्बल, गतिशील र प्रविधिमैत्री आधुनिक संगठनका रूपमा रूपान्तरण गर्ने उद्घोष गरेको छ।
१५औँ महाधिवेशनको बन्दसत्रमा सोमबार पार्टी सभापति गगनकुमार थापाद्वारा प्रस्तुत राजनीतिक प्रस्तावमा ऐतिहासिक गौरवशाली विरासतलाई आधुनिक युगको चेतना र नवीन पुस्ताको भरोसासँग जोडेर संगठनको पुनर्संरचना गर्ने स्पष्ट संकल्प गरिएको हो।
अब कांग्रेस माथिबाट तल निर्देशन दिने आदेशमुखी र पदकेन्द्रित संरचनामा सीमित नरहने प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनअनुसार पार्टी सदस्यता वितरण, नवीकरण, आन्तरिक छलफल, निर्वाचन र वित्तीय प्रणालीलाई पूर्ण रूपमा डिजिटलाइज गर्दै पारदर्शी बनाइनेछ।
साथै पुस्तान्तरण र समावेशितालाई व्यवहारमै उतार्न १८ देखि २१ वर्षसम्मका नयाँ पुस्ताको आवाज समेट्न ‘युथ काउन्सिल’ र अग्रजहरूको अनुभव सदुपयोग गर्न ‘विज्डम काउन्सिल’ जस्ता संयन्त्रहरू अभ्यासमा ल्याइनेछ। उम्मेदवार छनोटमा पैसा र पहुँचको प्रभाव अन्त्य गर्दै प्राथमिक निर्वाचन (प्राइमरी) प्रणाली लागू गर्ने र नेता(कार्यकर्ताको मूल्याङ्कन गुटको सेवा नभई समुदायमा गरेको सार्वजनिक सेवाका आधारमा गर्ने नीति लिइएको सभापति थापाले बताए ।
सभापति थापाले अबका वर्षहरू केवल आश्वासन र आशा जगाएर बिताउने नभई नागरिकका अपेक्षा पूरा गर्न जिम्मेवारीसहित काम गर्ने अवधि भएको स्पष्ट पारेका छन्।
पार्टीलाई नीति अनुसन्धान गर्ने, युवालाई उद्यमशीलतासँग जोड्ने र नागरिकको दैनिक जीवनका समस्या समाधान गर्ने साझा आन्दोलनका रूपमा विकास गर्दै आगामी चार वर्षभित्र कांग्रेसलाई राष्ट्रिय पुनर्जागरण र समुन्नतिको नेतृत्व गर्न सक्ने भरपर्दो र आधुनिक राजनीतिक दल बनाउने थापाले उद्घोष गरे ।



