काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य क्षेत्रमा विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन्।
संघीय सरकारबाट प्राप्त सशर्त अनुदानसमेत खर्च हुन नसकी फिर्ता जाने अवस्था अन्त्य गर्नुपर्नेमा उनले जोड दिए। प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको भन्दै उनले बजेट अभाव हुन नदिने तर प्राप्त बजेटको प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने बताए।
राप्ती उपत्यका (देउखुरी) मा शुक्रबार आयोजित आर्थिक वर्ष २०८२/८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले प्रदेशको कुल बजेटको करिब १५ प्रतिशत स्वास्थ्य क्षेत्रमा विनियोजन गरिएको जानकारी दिए।
उनले प्रदेश र स्थानीय तहबीच समन्वय गरेर स्वास्थ्य कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । विशेषगरी कुपोषणको समस्या बढी देखिएका तराईका दक्षिणी क्षेत्रमा कार्यक्रम केन्द्रित गर्नुपर्ने उनको भनाइ छ । पोषण सुधारका लागि स्वास्थ्य सेवासँगै नागरिकको चेतनास्तर अभिवृद्धिमा समेत ध्यान दिनुपर्ने उनले बताए।
मुख्यमन्त्री आचार्यले विद्यालय केन्द्रित स्वास्थ्य कार्यक्रमलाई प्राथमिकतामा राख्न निर्देशन दिए । विद्यालय तहबाटै स्वस्थ जीवनशैली र पोषणसम्बन्धी चेतना विकास गर्न सके दीर्घकालीन रूपमा स्वास्थ्य क्षेत्रमा सकारात्मक परिणाम आउने उनको भनाइ थियो।
प्रदेश मातहतका अस्पतालको व्यवस्थापन सुधार गर्दै अस्पतालभित्र हुने चुहावट नियन्त्रण गर्न पनि उनले निर्देशन दिए। सरकारी अस्पताललाई क्रमशः आत्मनिर्भर बनाउने गरी विशेष योजना बनाउनुपर्ने उनको भनाइ थियो।
‘निजी क्षेत्रका अस्पताल नाफामा जाने तर सरकारी अस्पताल घाटामा रहने अवस्था अन्त्य गर्नुपर्छ,’ मुख्यमन्त्री आचार्यले भने । अस्पतालको आम्दानी–खर्च व्यवस्थापनमा सुधार गर्दै चुहावट नियन्त्रणका लागि विशेष योजना बनाउनुपर्ने उनले बताए।
स्वास्थ्य क्षेत्रमा अवस्था निराशाजनक नरहेको उल्लेख गर्दै उनले भएका उपलब्धिलाई संस्थागत गर्दै सेवा प्रवाहलाई थप व्यवस्थित बनाउनुपर्ने बताए।
कार्यक्रममा स्वास्थ्य मन्त्री दीपेन्द्रकुमार पुनले स्वास्थ्य क्षेत्र प्रदेशका करिब ५२ लाख नागरिकसँग प्रत्यक्ष जोडिएको संवेदनशील विषय भएकाले प्राथमिकताका आधारमा काम गर्नुपर्ने बताए । स्वास्थ्य क्षेत्रमा देखिएका समस्याको पहिचान गरी समाधानको स्पष्ट योजना बनाउनुपर्ने उनको भनाइ थियो।
समीक्षामा रुपन्देही, नवलपरासी र पाल्पामा घरमै सुत्केरी हुने अवस्थालाई शून्यमा झारिएको जानकारी दिइयो । तर कपिलवस्तुमा अझै घरमै सुत्केरी हुने अवस्था रहेको बताइएको छ।
कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक औसत १ हजार १५१ जनाले सेवा लिने गरेको तथा भालुबाङ अस्पतालबाट दैनिक ४९ जनाले सेवा लिने गरेको जानकारी दिइयो।
आयुर्वेद तथा स्वस्थकर जीवनशैली प्रवर्द्धन, स्वर्णविन्दुप्राशन, पोषण विशेष कार्यक्रम र नसर्ने रोगको स्क्रिनिङलाई प्रभावकारी बनाइएको पनि कार्यक्रममा जानकारी दिइयो । अस्पतालमा बिहान ८ बजेदेखि ओपीडी सेवा सञ्चालनलाई नवीन अभ्यासका रूपमा अघि बढाइएको बताइएको छ।
स्वास्थ्य मन्त्रालयका तथ्यांक अधिकृत मानबहादुर ओलीले नवजात शिशु मृत्युदर घट्दै गएको जानकारी दिए । प्रमुख सचिव विनोदबहादुर कुँवरले स्वास्थ्य जनशक्तिको अभिलेख प्रणाली व्यवस्थित बनाउनुपर्ने बताए।
उनले जनशक्तिको अभाव रहेको अवस्थामा उपलब्ध जनशक्तिलाई समेत प्रभावकारी रूपमा उपयोग गर्न नसकिएको भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने बताए।



