काठमाडौँ । ३० सेप्टेम्बर २०२६ मा बोत्स्वानाले आफ्नो ६०औँ स्वतन्त्रता दिवस मनाइरहँदा २३ वटा हात्ती सिकार गरी त्यसको मासु राष्ट्रिय समारोहमा परिकारका रूपमा प्रयोग गरिएको विषयले अन्तर्राष्ट्रिय ध्यान तानेको छ।
बोत्स्वानाको वातावरण तथा पर्यटन मन्त्रालयले स्वतन्त्रता दिवसका अवसरमा सामुदायिक भोज र परम्परागत उत्सवका लागि २३ वटा हात्ती तथा अन्य वन्यजन्तुको सिकार गर्न अनुमति दिएको थियो । ती हात्तीलाई देशका आठ जिल्लामा बाँडिएका थिए र तिनको मासु स्थानीय समुदायमा वितरण गर्ने योजना बनाइएको थियो।
तर संरक्षणकर्मी तथा पशु अधिकारसम्बन्धी संस्थाहरूले यस निर्णयको आलोचना गरेका छन् । इलिफेन्ट प्रोटेक्सन सोसाइटीका अध्यक्ष ओइट्से नावाले राष्ट्रिय उत्सवका लागि विशेष रूपमा हात्ती मारिनुले संरक्षणसम्बन्धी गलत सन्देश जान सक्ने बताएका छन् । सरकारी स्वीकृतिमा उत्सवका लागि हात्ती मार्न मिल्ने अभ्यास स्थापित भए भविष्यमा पनि हात्ती मार्ने कार्यलाई सामान्य रूपमा स्वीकार गर्ने जोखिम रहेको उनको तर्क छ।
हात्तीको मासु वितरणको तरिकालाई लिएर पनि प्रश्न उठेको छ । बोत्स्वानाका सार्वजनिक गरिएका तस्बिरमा मानिसहरू हात्तीका शव वरिपरि जम्मा भएर त्यहीँबाट मासु काटिरहेको देखिन्छ । वन्यजन्तुका लागि प्रसिद्ध चोबे क्षेत्रमा एक सांसदले भीड व्यवस्थापन, मासु वितरणमा समानता र सार्वजनिक स्वास्थ्य तथा सरसफाइबारे चिन्ता व्यक्त गरेका छन् । उनले मासु साना प्याकेटमा राखेर व्यवस्थित रूपमा वितरण गर्न सकिने सुझाव दिएका छन्।
तर बोत्स्वानाको सन्दर्भमा हात्ती व्यवस्थापनको विषय जटिल छ । देशमा १ लाख ३० हजारभन्दा बढी हात्ती रहेको बताइन्छ, जुन विश्वकै सबैभन्दा ठुलो हात्ती जनसङ्ख्यामध्ये एक हो । हात्तीको ठुलो सङ्ख्या भएका कारण मानव–हात्ती द्वन्द्व पनि स्थानीय समुदायका लागि लामो समयदेखि चुनौती बन्दै आएको छ।
ग्रामीण क्षेत्रमा हात्तीले बाली नष्ट गर्ने, घर तथा अन्य सम्पत्तिमा क्षति पुर्याउने र कतिपय अवस्थामा मानिसको ज्यानसमेत जाने गरेको सरकारी पक्षको भनाइ छ । त्यसैले बोत्स्वाना सरकारले निश्चित सङ्ख्यामा नियन्त्रित सिकारलाई वन्यजन्तु व्यवस्थापनको एउटा उपायका रूपमा प्रस्तुत गर्दै आएको छ।
सरकारका अनुसार नियन्त्रित सिकारबाट प्राप्त आम्दानी संरक्षण तथा स्थानीय विकासमा प्रयोग गर्न सकिन्छ । साथै, यसबाट वन्यजन्तुबाट प्रभावित समुदायलाई प्रत्यक्ष लाभ पुर्याउने र अत्यधिक हात्ती जनसङ्ख्याका कारण उत्पन्न हुने मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्न सहयोग पुग्ने सरकारको तर्क छ।
तर संरक्षणकर्मीहरूले हात्तीको संरक्षण र समुदायको आवश्यकताबिच सन्तुलन खोज्ने क्रममा राष्ट्रिय उत्सवका लागि हात्ती मार्ने निर्णयले संरक्षणको सन्देशलाई कमजोर बनाउन सक्ने चिन्ता व्यक्त गरेका छन् । बोत्स्वानाले भने वन्यजन्तु व्यवस्थापनमा नियन्त्रित सिकारलाई समावेश गर्ने आफ्नो नीतिलाई निरन्तरता दिइरहेको छ।



