काठमाडौँ । नेपाली कांग्रेसले नेता व्यवस्थापन गर्न कठिन भएपछि पदाधिकारीको संख्या बढाउन प्रस्ताव गरेको छ। महामन्त्री प्रदीप पौडेल नेतृत्वको विधान संशोधन समितिले नेतृत्वका आकांक्षीहरूलाई व्यवस्थापन गर्ने उद्देश्यले कांग्रेसले पदाधिकारी संख्या १७ बाट बढाएर २१ पुर्याउने प्रस्ताव गरेको छ।
प्रस्तावित नयाँ संरचनाअनुसार अब कांग्रेसमा १ सभापति, ४ उपसभापति, २ महामन्त्री, १३ सहमहामन्त्री र १ कोषाध्यक्ष रहने एक पदाधिकारीले जानकारी दिए।
उपसभापतिको संख्या २ बाट बढाएर ४ पुर्याउन प्रस्ताव गरिएको छ । जसमा एक वरिष्ठ उपसभापति र एक महिला अनिवार्य गर्न प्रस्ताव गरिएको ती पदाधिकारीले बताए । अहिले कांग्रेसमा २ उपसभापति छन् । चारै जना निर्वाचन प्रक्रियाबाटै छान्ने पनि प्रस्तावमा उल्लेख छ।
सहमहामन्त्रीको संख्या ११ बाट बढाएर १३ पुर्याउने प्रस्ताव छ। जसमा ११ जना निर्वाचित गर्ने र २ जना केन्द्रीय सदस्यहरूमध्येबाट सभापतिले मनोनीत गर्ने व्यवस्था प्रस्ताव गरिएको छ । १४ औँ महाधिवेशनबाट ८ सहमहामन्त्री रहने व्यवस्था गरिएको थियो । गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट सहमहामन्त्रीको संख्या ११ पुर्याइएको थियो । अहिले त्यसबाट पनि बढाएर १३ पुर्याउन लागिएको हो।
महामन्त्रीको संख्या भने २ मै सीमित राखिएको छ। महामन्त्री ३ जना बनाउने प्रस्तावमा भने पार्टीभित्र सहमति जुट्न नसकेको ती पदाधिकारीले बताए । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यबाट सभापतिले मनोनयन गर्ने पुरानै व्यवस्था राखिएको छ।
प्रस्तावित विधान संशोधनबारे जानकारी दिँदै अर्का पदाधिकारीले भने, ‘पार्टीमा नेतृत्वका आकांक्षीहरू धेरै छन्, उनीहरूको उचित व्यवस्थापन र समावेशी प्रतिनिधित्वलाई प्राथमिकता दिँदै यो प्रस्ताव ल्याइएको हो। महिला र युवाहरूको सहभागिता बढाउनु हाम्रो मुख्य उद्देश्य हो।’
ती पदाधिकारीका अनुसार ३५ वर्षमुनिका युवाहरूलाई केन्द्रीय समितिमा प्रतिनिधित्व गराउने व्यवस्थालाई पनि संशोधित विधानमा समेटिनेछ। समग्रमा केन्द्रीय कार्यसमिति २३२ सदस्यीय नै रहनेछ, जसमा १७१ जना निर्वाचित हुनेछन् भने ६१ जना सभापतिबाट मनोनीत हुनेछन्।
पार्टीको यो प्रस्ताव अब विधान संशोधनको रूपमा बन्दसत्रमा पेस गरिनेछ। महाधिवेशन प्रतिनिधिहरूबाट प्रस्ताव पारित भएपछि मात्रै नयाँ संरचनाअनुसार पदाधिकारी र केन्द्रीय सदस्य चयनको प्रक्रिया अघि बढ्नेछ।



