काठमाडौँ । नेपाली कांग्रेसका ३ महिलाले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । अहिले केन्द्रीय कार्यसमितिमा रहेका प्रतिमा गौतम, ईश्वरी न्यौपाने र सीता गुरुङले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन् । गौतम २०७९ को प्रतिनिधि सभामा समानुपातिकतर्फकी सांसद र नेपाल विद्यार्थी संघकी पूर्वमहामन्त्री हुन्।
न्यौपाले कांग्रेसको प्रतिनिधि सभाको पूर्वसचेतक तथा राज्य व्यवस्था तथा सुशासन समितिकी पूर्वसभापति पनि हुन् । उनी पटक–पटक केन्द्रीय सदस्य भइसकेकी छन्।
‘नेपाली कांग्रेसलाई लोकप्रिय पार्टी निर्माण गर्ने, संगठनलाई अझ मजबुत बनाउने र देशकै नम्बर एक पार्टीका रूपमा स्थापित गर्ने अभियानमा मेरो महत्वपूर्ण भूमिका रहनेछ, त्यसकारण मलाई मतदान गरेर यो अवसर प्रदान गर्न सम्पूर्ण महाधिवेशन प्रतिनिधिज्यूहरूमा हार्दिक अपिल गर्दछु,’ न्यौपानेले भनिन्।
कांग्रेसकी केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री गुरुङले पार्टीको सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । गुरुङ प्रतिनिधि सभामा समानुपातिक र प्रत्यक्षतर्फ सांसद बनेकी थिइन् । भने २०७९ मा पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहरी विकास मन्त्री बनेकी थिइन्। कांग्रेसमा ८ सहमहामन्त्री छन् । एउटा सहमहामन्त्री महिलाका लागि छुट्ट्याइएको छ।



