काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (आइतबार) दिउँसो २ बजे टुँडिखेल खुलामञ्चमा उद्घाटन हुँदैछ । कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले निर्वासनबाट स्वदेश आगमनपछि पहिलो सार्वजनिक सम्बोधन गरेको स्थलमा पार्टीको १५औँ महाधिवेशन हुन लागेको हो । त्यही टुँडिखेलमा कांग्रेसका अर्का संस्थापक नेता गणेशमान सिंहले निरंकुश सत्ताको अन्त्यका लागि भएको २०४६ सालको जनआन्दोलनको सफलताको उद्घोष गरेका थिए । महाधिवेशनको उद्घाटन सभापति गगनकुमार थापाले गर्नेछन् । उद्घाटन सत्रमा कांग्रेसका शीर्ष नेताहरूका साथै मुलुकका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको समेत सम्बोधन हुने बताइएको छ ।
महाविधेशनको तयारीसम्बन्धी जानकारी दिर्दै पार्टीका प्रवक्ता देवराज चालिसेले भने, ‘यो यसकारण पनि ऐतिहासिक महाधिवेशन हो, जुन महाधिवेशनको प्रक्रियाबाट नवपुस्ताका ४४ हजार युवा जिम्मेवारीमा आएका छन् र उनीहरूसहितले छानेका सात हजारभन्दा बढी प्रतिनिधिहरू सहभागी हुँदैछन् ।’ गत २८ पुसदेखि ३ माघसम्म सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनपछि यो महाधिवेशन हुन लागेको उनले जानकारी दिए । कांग्रेसको यस महाधिवेशनबाट ३५ वर्ष मुनिका युवाका साथ लोकतन्त्र सेनानी, श्रमिक तथा पेसागत समूह र विदेशमा रहेका नेपालीसमेत पहिलोपटक केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने अवसर पाउँदै छन् ।
‘ऊर्जाशील कांग्रेस, नयाँ संकल्प’ यस महधिवेशनको मूल मन्त्र राखिएको छ । ‘छलफल सत्रमा नयाँ संकल्पका विषयमा गहन छलफल हुनेछ र यसको कार्यान्वयनको खाका तयार गरिने छ,’ प्रवक्ता चालिसेले भने, ‘यो महाधिवेशनले यी सङ्कल्पलाई कसले कार्यान्वयन गर्न सक्छ भनेर नेतृत्व चयन गर्नेछ । यो महाधिवेशनको सम्पूर्ण प्रयास कांग्रेसमा विधि र पद्धति निर्माण गर्नमा केन्द्रित हुनेछ ।’
नेपाली राजनीतिमा कांग्रेसले धेरै इतिहास रचेको र अब नयाँ इतिहास निर्माण गर्न चाहेको उल्लेख गर्दै उनले कांग्रेसले अब बिपी कोइरालालाई इतिहासबाट भविष्यसँग जोड्ने र यसका लागि देशको समृद्धिको वैचारिक आधार बिपी विचारलाई बनाइने जानकारी दिए । महाधिवेशनमा देश तथा विदेशबाट महाधिवेशन प्रतिनिधिहरू सहभागी हुन काठमाडौं आउनेक्रम जारी रहेको र झण्डै सात हजार ५०० महाधिवेशन प्रतिनिधि रहने पार्टी कार्यालयले जनाएको छ ।
शनिबारैदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया सुरु भएको छ । महाधिवेशन प्रतिनिधिले सहभागिता दर्ताबापत तीन हजार ५०० रुपैयाँ बुझाउनुपर्ने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ । त्यस्तै, आवास व्यवस्थापन समितिले हरेक निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशबाट एक÷एक जना संयोजक तोकेर सम्बन्धित भूगोलका महाधिवेशन प्रतिनिधिका लागि बसोबासको समन्वय गर्ने प्रबन्ध गरेको जनाएको छ । सहभागीले आवाससम्बन्धी जानकारी ह्वाट्सएप, एआई नम्बर र एसएमएसबाट प्राप्त गर्ने व्यवस्था मिलाइएको आवास व्यवस्थापन समितिले जनाएको छ । आइतबारको उद्घाटन कार्यक्रमपछि सोमबार र मंगलबार बन्दसत्र सञ्चालन हुनेछ ।
बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री, र कोषाध्यक्षले अलगअलग प्रतिवेदन पेस गर्ने तालिका छ ।
प्रतिवेदनमाथि भूगोलका आधारमा समूह बनाई तीन फरक हलमा छलफल हुनेछ । हरेक हलमा रहेका डिजिटल बोर्डबाट सहभागीले प्रस्तुत प्रतिवेदन सुन्न र हेर्न पाउने प्रवक्ता चालिसेले बताए । निर्वाचन समितिले सोमबार अपराह्न २ बजेदेखि ६ बजेसम्म उम्मेदवारी मनोनयनको समय निर्धारण गरेको जनाएको छ । मनोनयन राष्ट्रिय सभागृहमा गरिनेछ । निर्वाचनको कार्यक्रम आवश्यकताअनुसार परिमार्जन हुनसक्ने निर्वाचन समितिले जनाएको छ । सहभागीहरूले प्रयोग गर्ने निजी कार तथा मोटरसाइकल पार्किङ गर्न भृकुटीमण्डप, राष्ट्रियसभागृह र पुरानो बसपार्क क्षेत्र निर्धारण गरिएको छ । ठूला बसका हकमा भने माइतीघरदेखि भद्रकाली खण्डको एक लेनमा पार्किङ व्यवस्था मिलाइएको छ । कांग्रेसको १५औँ महाधिवेशनका सूचना अद्यावधिक गर्न महाधिवेशन स्थल खुलामञ्चमा मिडिया सेन्टर स्थापना गरी मिडिया ब्रिफिङ हुने उनले जानकारी दिए ।
केन्द्रीय पदमा उठेका व्यक्ति प्रदेश र जिल्लामा उम्मेदवार बन्न नपाउने
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवार बनेको व्यक्ति त्यसपछि हुने प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टी विधानमा रहेको वैधानिक व्यवस्थाबारे सबैलाई पुनः स्मरण गराएको हो ।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालद्वारा जारी विज्ञप्तिअनुसार नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) मा निर्वाचनसम्बन्धी स्पष्ट व्यवस्था गरिएको छ । विधान अनुसार पार्टीको कुनै पनि तहको अधिवेशनमा प्रतिस्पर्धा गरिसकेको व्यक्ति सोही अवधिमा आफूभन्दा माथिल्लो वा तल्लो तहको कुनै पनि कार्यसमितिको पदमा उम्मेदवार हुन पाउँदैन ।
सोही वैधानिक व्यवस्थालाई स्मरण गराउँदै समितिले आगामी १५औँ महाधिवेशनमा केन्द्रीय तहको कुनै पनि पदमा उम्मेदवारी दिने नेता तथा कार्यकर्ताहरू त्यसलगत्तै हुने प्रदेश कार्यसमिति र जिल्ला कार्यसमितिको निर्वाचनमा उम्मेदवार बन्न नपाउने प्रष्ट पारेको छ । यसैगरी, विज्ञप्तिमार्फत निर्वाचन समितिले पदेन महाधिवेशन प्रतिनिधि तथा भ्रातृ संघ एवं शुभेच्छुक संस्थाहरूबाट प्रतिनिधित्व गर्ने पदेन प्रतिनिधिहरूलाई महाधिवेशनमा केन्द्रीय कार्यसमितिमा उम्मेदवार बन्न नपाउने वैधानिक व्यवस्था रहेको समेत स्पष्ट पारेको छ ।
३० स्वास्थ्यकर्मी र दुई एम्बुलेन्स मैदानमा, होटलमै पुगेर स्वास्थ्य जाँच
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क तयार गरिएको छ । हेल्थ डेस्कमार्फत महाधिवेशन प्रतिनिधिहरुका लागि स्वास्थ्य सेवा प्रदान गरिनेछ । महाधिवेशन आयोजक समिति अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा.केदारनरसिंह केसीका अनुसार महाधिवेशन स्थल रहेको खुला मन्चको पश्चिमतर्फ स्वास्थ्य सेवाका लागि हेल्थ डेस्क बनाइएको छ । पाँच स्टल रहने हेल्थ डेस्कमार्फत सामान्य स्वास्थ्य परीक्षण र आकस्मिक सेवा प्रदान गरिने छ ।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका डा.केसीले हेल्थ डेस्क दुई सिफ्टमा संचालन हुने जानकारी दिए । उनका अनुसार डेस्कमा ८ जना चिकित्सक, पारामेडिक्स तथा नर्सहरु रहनेछन् भने ब्लड प्रेसर, सुगर, सिटामोल, जीवनजल, घाउचोटमा प्रयोग हुने औषधि लगायत निःशुल्क प्रदान गरिनेछ । यसैगरी प्रतिनिधिहरुलाई तत्काल आकस्मिक उपचारका लागि अस्पताल लैजानुपर्ने अवस्था आएमा नजिकैको वीर अस्पताल, राष्ट्रिय ट्रमा स्न्र्टर र वसुन्धारामा रहेको वीपी स्मृति अस्पतालमा ब्यवस्था मिलाइएको छ । त्यसका लागि महाधिवेशन स्थलमा नै दुई एम्बुलेन्स तयारी अवस्थामा राखिनेछ ।
यसैगरी रातिको समयमासमेत स्वास्थ्य सेवा आवश्यक पर्ने भएमा ‘अन कल’ ड्युटीको ब्यवस्थासमेत गरिएको छ भने होटलमा रहेको अवस्थामासमेत प्रतिनिधिलाई कुनै समस्या परेमा होटलमै पुगेर स्वास्थ्य जाँच गरिने प्रवन्ध गरिएको डा.केसीले जानकारी दिए । नेपाल स्वास्थ्यकर्मी संघकी उपमहासचिव शोभा उप्रेती खरेलले हेल्थ डेस्कमा आयुर्वेद र एलोपेथिक दुवै सेवा उपलब्ध हुने जानकारी दिइन्। उनका अनुसार अत्यावश्यक औषधि हेल्थ डेस्कमा उपलब्ध हुनेछ ।



