काठमाडौं । युवा नेता शंकर तिवारीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबार बिहान काठमाडौंमा आयोजित विशेष समारोहमा तिवारीले नवपुस्ताको प्रतिनिधित्व गर्दै कांग्रेस विचारको रक्षा र रूपान्तरणका लागि महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन्।
१४औँ महाधिवेशनमा खुला केन्द्रीय सदस्यतर्फ सबैभन्दा कान्छा उम्मेदवारका रूपमा चिनिएका तिवारीले यसपटक महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् । राजनीतिक विश्लेषक तथा लेखकका रूपमा समेत चिनिएका तिवारी विद्यार्थी राजनीतिदेखि नै पार्टी सभापति गगन थापा निकट रहेर काम गर्दै आएका छन्।
उम्मेदवारी घोषणा कार्यक्रममा तिवारीले बदलिँदो राजनीतिक परिस्थितिमा पार्टी संगठनलाई बलियो बनाउन, तल्लो तह तथा दूरदराजका जनतासम्म कांग्रेसलाई जोड्न र नवपुस्तालाई वैचारिक राजनीतितर्फ आकर्षित गराउन महामन्त्री पदमा उम्मेदवारी दिएको बताए।
‘महामन्त्री पदमा मेरो उम्मेदवारी कांग्रेस भन्ने विचारको रक्षाका लागि हो । कांग्रेस विचारको सिर्जनशील व्याख्या, विस्तार र प्रसारका लागि हो,’ उनले भने।
तिवारीले कांग्रेस विचारको सामयिक नवीकरण आवश्यक रहेको बताउँदै परम्पराको सम्मान गर्दै नयाँ पुस्तासँग कांग्रेस विचारलाई जोड्नु आफ्नो उम्मेदवारीको मूल ध्येय रहेको बताए।
‘आज कांग्रेस विचार संकटमा परेको छ । अति दक्षिणपन्थी लोकप्रियतावादको चपेटामा परेको छ । कांग्रेस भन्ने विचारले जहानियाँ राणाशाही, प्रत्यक्ष शासन वा विधि–विधानभन्दा माथि रहेर शासन गर्न चाहने राजसंस्था तथा उग्र वामपन्थीहरूलाई परास्त गरेर लोकतन्त्रलाई मजबुत बनाउँदै आएको छ,’ उनले भने।
उनले १५औँ महाधिवेशनबाट कांग्रेसलाई वैचारिक रूपमा स्पष्ट बनाउँदै नयाँ कार्यदिशा तय गर्नुपर्ने आवश्यकता रहेको बताए।
‘पन्ध्रौँ महाधिवेशनको संघारमा उभिएको कांग्रेसको मूल कार्यभार भनेको देशलाई अति दक्षिणपन्थी प्रियातावादबाट मुक्त गराउनु हो । त्यसका लागि कांग्रेसमा वैचारिक स्पष्टता जरुरी छ र नयाँ कार्यदिशाको खाँचो छ । १५औँ महाधिवेशनबाट हामीले त्यो सबै काम गर्नुपर्नेछ,’ उनले भने।



