Oct 28 2026 | २०८३ कार्तिक १२ गते

चीनले अमेरिका पठाउन यी दुई नै पाण्डा छान्नुका यस्ता छन् कारण

चीनले अमेरिका पठाउन यी दुई नै पाण्डा छान्नुका यस्ता छन् कारण

शुक्रवार, आश्विन १६ २०८३
  • काठमाडौँ । चीनले अमेरिकाको एटलान्टा चिडियाखानामा अनुसन्धान तथा संरक्षण सहकार्यका लागि पिङपिङ र फु श्वाङ नामका दुई विशाल पाण्डा पठाएको छ। तर, चीनबाट अमेरिका पठाउन यी दुई पाण्डा नै किन छानिए भन्ने प्रश्नको जवाफ चिनियाँ विज्ञहरूले दिएका छन्।

    चाइना वाइल्डलाइफ कन्जर्भेसन एसोसिएसनका अनुसार विदेशमा अनुसन्धान तथा प्रजनन सहकार्यका लागि पाण्डा छनोट गर्दा सबैभन्दा बढी प्राथमिकता आनुवंशिक विविधतालाई दिइन्छ। पाण्डाको वंशावली र आनुवंशिक सम्बन्धको विस्तृत अध्ययन गरेर विज्ञहरूले जोडी छनोट गर्छन्।

    images

    यसको मुख्य उद्देश्य नजिकका आनुवंशिक सम्बन्ध भएका पाण्डाबीच प्रजनन हुन नदिनु र बन्दी अवस्थामा रहेका पाण्डाको दीर्घकालीन स्वास्थ्य तथा आनुवंशिक स्थिरता कायम गर्नु हो।

    चाइना सेन्ट्रल टेलिभिजनसँग कुरा गर्दै पिङपिङ र फु श्वाङ अमेरिकातर्फ प्रस्थान गर्नुअघि बसेको छेङ्दु रिसर्च बेस अफ जायन्ट पाण्डा ब्रीडिङका उपनिर्देशक ली मिङ्सीले अन्तर्राष्ट्रिय सहकार्यका लागि पाण्डा छनोट गर्दा मुख्यतः उमेर, आनुवंशिक अवस्था, स्वास्थ्य र स्वभाव चार पक्ष हेरिने बताए।

    १. उपयुक्त उमेर

    पाण्डा छनोटमा पहिलो आधार उमेर हो । विज्ञहरूका अनुसार धेरै कलिला पाण्डालाई विदेश पठाउनु उपयुक्त हुँदैन। उनीहरू अझै पूर्ण रूपमा स्वतन्त्र भइसकेका हुँदैनन् र नयाँ वातावरणमा हुने परिवर्तनप्रति बढी संवेदनशील हुन सक्छन्।

    त्यस्तै, धेरै बूढा पाण्डालाई पनि विदेश पठाउन सकिँदैन । विदेशमा पाण्डाको बसाइ सामान्यतः लामो हुने भएकाले उनीहरूले नयाँ वातावरणमा अनुकूलन गर्न सक्ने र निर्धारित अवधिसम्म स्वस्थ रहन सक्ने उमेरका पाण्डा आवश्यक हुन्छन्।

    लीका अनुसार सामान्यतः चारदेखि छ वर्ष उमेरका पाण्डा छनोट गरिन्छन् । पिङपिङ र फु श्वाङ पनि यही उमेर समूहमा पर्ने भएकाले उनीहरूलाई अन्तर्राष्ट्रिय सहकार्यका लागि उपयुक्त मानिएको हो।

    २. आनुवंशिक अवस्था

    दोस्रो र अत्यन्त महत्वपूर्ण पक्ष आनुवंशिक अवस्था हो । पाण्डाको प्रजनन कार्यक्रमको दीर्घकालीन सफलताका लागि आनुवंशिक विविधता कायम राख्नु आवश्यक मानिन्छ । विज्ञहरूले प्रत्येक पाण्डाको वंशावली र आनुवंशिक सम्बन्धको अध्ययन गर्छन् । त्यसपछि नजिकको आनुवंशिक सम्बन्ध भएका पाण्डाबीच प्रजनन नहुने गरी जोडी छनोट गरिन्छ।

    यस प्रक्रियाले बन्दी अवस्थामा रहेका पाण्डाको आनुवंशिक विविधता जोगाउन सहयोग पुर्‍याउने चिनियाँ संरक्षण संस्थाले जनाएको छ । लीले पिङपिङ र फु श्वाङले चीन र अमेरिकाका जनताबीचको सद्भावना र शुभेच्छा बोकेको बताएका छन् । उनीहरूले अमेरिकामा सफलतापूर्वक प्रजनन गर्ने र सम्भव भए धेरै बच्चा जन्माउने आशा चीनले गरेको छ । भविष्यमा ती पाण्डा आफ्ना बच्चासहित चीन फर्किने अपेक्षासमेत गरिएको छ।

    ३. स्वास्थ्य र वातावरणसँग अनुकूलन

    तेस्रो आधार पाण्डाको स्वास्थ्य हो । विदेशमा लामो समय बस्नुपर्ने भएकाले छनोट गरिने पाण्डा पूर्ण रूपमा स्वस्थ, सक्रिय र नयाँ वातावरणमा अनुकूलन गर्न सक्ने हुनुपर्ने विज्ञहरूको भनाइ छ । पिङपिङ र फु श्वाङले अमेरिकामा करिब १० वर्ष बिताउने कार्यक्रम रहेकाले उनीहरूको शारीरिक अवस्था र नयाँ वातावरणसँग घुलमिल हुन सक्ने क्षमतालाई पनि छनोटमा ध्यान दिइएको हो।

    पाण्डाका लागि नयाँ हावापानी, खाना, दैनिक हेरचाह र मानिससँगको सम्पर्कजस्ता वातावरणीय पक्षमा परिवर्तन आउन सक्छ । त्यसैले लामो समय विदेश बस्न सक्ने शारीरिक क्षमता भएका पाण्डा रोज्नु आवश्यक हुन्छ।

    ४. स्वभाव र आपसी अनुकूलता

    पाण्डा छनोटको चौथो आधार उनीहरूको स्वभाव हो । विज्ञहरू शान्त र सौम्य स्वभावका पाण्डालाई प्राथमिकता दिन्छन् । त्यससँगै, सम्भावित जोडीबीच आपसी अनुकूलता पनि हेरिन्छ । लीका अनुसार भविष्यमा उनीहरूले प्राकृतिक रूपमा प्रजनन गर्न सकून् भन्ने उद्देश्यले एकअर्काप्रति अनुकूल स्वभाव भएका पाण्डा छनोट गर्ने प्रयास गरिन्छ।

    यसकारण पाण्डाको छनोट केवल उमेर वा स्वास्थ्यका आधारमा हुने प्रक्रिया होइन । आनुवंशिक अवस्था, शारीरिक स्वास्थ्य, वातावरणसँग अनुकूलन गर्ने क्षमता र सम्भावित जोडीबीचको स्वभावसमेत समग्र रूपमा मूल्यांकन गरिन्छ।

    करिब दुई वर्षपछि फेरि अमेरिकी चिडियाखानामा पाण्डा पिङपिङ र फु श्वाङ आइतबार अमेरिकाको एटलान्टा चिडियाखानामा पुगेका छन् । उनीहरूको आगमनसँगै चीन र अमेरिकाबिच दशकौँदेखि चलिआएको पाण्डा संरक्षण तथा अनुसन्धान सहकार्यले करिब दुई वर्षको अन्तरालपछि पुनः निरन्तरता पाएको छ।

    चीनले विदेशमा पाण्डा पठाउने कार्यक्रमलाई संरक्षण, अनुसन्धान तथा प्रजनन सहकार्यसँग जोड्दै आएको छ। एटलान्टामा पिङपिङ र फु श्वाङको आगमनले स्थानीय मानिसलाई पनि चीनका विशाल पाण्डासँग पुनः प्रत्यक्ष सम्पर्कको अवसर दिएको छ।

    यी दुई पाण्डाको आगामी दशक लामो बसाइमा उनीहरूको स्वास्थ्य, अनुकूलन र प्रजननसम्बन्धी प्रगतिलाई चीन र अमेरिकाका संरक्षण विज्ञहरूले संयुक्त रूपमा निगरानी गर्नेछन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार