काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उम्मेदवार तथा आकाङ्क्षीले प्रचारप्रसार गर्दा कडा आचारसंहिता पालना गर्नुपर्ने भएको छ ।
केन्द्रीय निर्वाचन समितिले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत विपद्पछिको परिस्थिति, राष्ट्रिय संवेदना र वातावरणीय पक्षलाई ध्यानमा राख्दै उम्मेदवारका लागि थप तथा कडा प्रावधान लागू गरिएको जनाएको छ ।
समितिका अनुसार महाधिवेशनमा तडकभडक र भड्किलो प्रचारप्रसार गर्न पूर्ण रूपमा रोक लगाइएको छ । महाधिवेशनलाई मर्यादित, मितव्ययी र अनुशासित बनाउन जुनसुकै प्रकारका भड्किला प्रचार अभियान निषेध गरिएको छ।
त्यस्तै महाधिवेशन स्थल तथा आसपासका क्षेत्रमा फ्लेक्स, ब्यानर, पोस्टर, पम्प्लेटलगायत कुनै पनि प्रकारका छापिएका प्रचार सामग्री राख्न, टाँस्न वा वितरण गर्न रोक लगाइएको छ । महाधिवेशन स्थलको बाहिरी परिसर, सार्वजनिक सडक तथा आसपासका क्षेत्रमा समेत भौतिक प्रचार सामग्री राख्न वा प्रदर्शन गर्न नपाइने समितिले जनाएको छ ।
उम्मेदवारले आफ्ना एजेन्डा तथा उम्मेदवारीसम्बन्धी विवरण डिजिटल माध्यमबाट मात्र प्रचार गर्न पाउने भएका छन् । सामाजिक सञ्जाल, अनलाइन तथा अन्य विद्युतीय माध्यमबाट प्रचारप्रसार गर्न अनुमति दिइएको छ ।
भोटेकोशीलगायत देशका विभिन्न भू–भागमा आएको प्राकृतिक विपद्का कारण जनधनको क्षति भएको र देश शोक तथा पुनरोत्थानको कठिन परिस्थितिमा रहेका बेला महाधिवेशन हुन लागेको भन्दै निर्वाचन समितिले आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह गरेको छ ।
आचारसंहिता उल्लङ्घन भएमा नियमानुसार कारबाही हुने समितिले स्पष्ट पारेको छ। समितिका सदस्य सचिव राजु कटुवालद्वारा जारी विज्ञप्तिमा १५औँ महाधिवेशनलाई अनुशासित, मर्यादित र भव्य रूपमा सम्पन्न गर्न नेता, कार्यकर्ता, उम्मेदवार तथा शुभेच्छुकलाई आग्रह गरिएको छ। कांग्रेस महाधिवेशन आइतबारदेखि सुरु हुँदैछ।



