काठमाडौँ । राष्ट्रिय सभामा प्रस्तुत ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ माथि भएको छलफलमा सांसदहरूबाट आएका सुझावलाई समेट्दै सरकारले विधेयकमा १३ वटा बुँदामा संशोधन गरेको छ। शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा विधेयकमाथिको सैद्धान्तिक र दफाबार छलफल सम्पन्न भएको हो।
छलफलमा भाग लिँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले सुरक्षित र भरपर्दो हवाई सेवा सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै विधेयक कार्यान्वयनका लागि आजैबाट तयारी सुरु गरिने जानकारी गराए। विधेयकलाई थप व्यावहारिक र स्पष्ट बनाउन विधायन व्यवस्थापन समितिबाट प्राप्त सुझावहरूलाई आत्मसात् गरिएको उनले स्पष्ट पारे।
मन्त्री पौडेलका अनुसार विधेयकमा परेका १५ वटा संशोधन प्रस्तावमध्ये १३ वटालाई विधेयकमा समावेश गरिएको छ। विशेष गरी ऐनका प्रावधानहरूमा दोहोरो अर्थ नलागोस् र आम सर्वसाधारणले सहजै बुझ्न सकून् भन्ने उद्देश्यले भाषिक सरलीकरणमा विशेष ध्यान दिइएको उनले बताए।
यो विधेयक पारित भएपछि हवाई भाडा वृद्धि नहुने र यसले यात्रु, चालक दलका सदस्य तथा तेस्रो पक्षको सुरक्षालाई सर्वोपरी राख्ने दाबी उनले गरे। छलफलका क्रममा सांसदहरूले उठाएको प्रचारप्रसारको विषयलाई गम्भीरतापूर्वक लिँदै सरकारले तत्कालै राष्ट्रव्यापी सचेतना योजना सुरु गर्ने प्रतिबद्धता मन्त्री पौडेलले जनाएका छन्।
यात्रुहरूलाई आफ्ना अधिकार र वायुसेवा कम्पनीहरूको दायित्वबारे सुसूचित गराउन विभिन्न सञ्चार माध्यमबाट व्यापक जानकारी गराइने मन्त्रालयको तयारी छ।



