काठमाडौँ । नेकपा (एमाले) की सांसद नीता घतानीले पछिल्लो समय राजनीतिमा पुराना पुस्तालाई अयोग्य करार गर्दै निर्माण गरिएको भाष्यप्रति तीव्र असन्तुष्टि व्यक्त गरेकी छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले देशको विकास र लोकतन्त्र स्थापनामा अग्रजहरूको योगदानलाई बिर्सिएर युवा पुस्तालाई उत्तेजित पार्ने काम घातक भएको जिकिर गरेकी हुन्।
सांसद घतानीले ३५ वर्षको अवधिमा मुलुकले हासिल गरेका महत्त्वपूर्ण उपलब्धिहरू पञ्चायतकाल र राजतन्त्रविरुद्ध निरन्तर सङ्घर्ष गर्ने पुराना नेताहरूकै देन भएको उल्लेख गरिन्। उनले वर्तमान सरकार काम गर्नुभन्दा स्टन्ट र भ्रमको खेतीमा मात्र केन्द्रित रहेको आरोप लगाइन्।
बजारमा खाना पकाउने ग्यासको हाहाकार मच्चिँदा, स्वास्थ्य बीमा उपेक्षित हुँदा र बाढीपहिरोको विपद्मा सरकारको उपस्थिति अत्यन्त फितलो रहेको भन्दै उनले कडा आलोचना गरिन्।
उनले भनिन्, ‘देशमा ३५ प्रतिशत रहेको साक्षरतालाई ८० प्रतिशत पुर्याउने, सडक, खानेपानी र स्वास्थ्य पूर्वाधार निर्माण गर्ने तथा नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउने काम तिनै पुराना नेताहरूबाट भएको हो। पुरानालाई गाली गरेर भ्युज र लाइक बटुल्ने प्रवृत्तिले देशलाई फाइदा गर्दैन। चुनावका बेला ठूला गफ हाँक्नेहरू सत्तामा पुगेपछि नागरिकका समस्यामा मौन बसेका छन्। बाढीपहिरोका बेला हेलिकोप्टर उडाएर राज्यको ढुकुटी सिध्याउने काम गरियो, तर वास्तविक पीडितको उद्धारमा सरकार पूर्ण रूपमा चुकेको छ।’
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चुच्चे नक्सा जारी गरी देखाएको राष्ट्रिय अडान र वर्तमान नेतृत्वको राष्ट्रहित प्रतिकूल अभिव्यक्तिका बिच तुलना गर्दै सांसद घतानीले वर्तमान सरकारको कार्यक्षमता र नियतमाथि गम्भीर प्रश्न उठाएकी छन्।



