Oct 28 2026 | २०८३ कार्तिक १२ गते

जन्तर–मन्तरमा प्रदर्शन : १०० भन्दा बढी पक्राउ, ११ मेट्रो स्टेसन बन्द

जन्तर–मन्तरमा प्रदर्शन : १०० भन्दा बढी पक्राउ, ११ मेट्रो स्टेसन बन्द

शुक्रवार, आश्विन १६ २०८३
  • काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै भएको प्रदर्शनका क्रममा प्रहरीले १०० भन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । आम आदमी पार्टी (आप), विद्यार्थी संगठन, युवा कांग्रेस तथा नागरिक समाजका समूहहरू सहभागी प्रदर्शनलाई लक्षित गर्दै दिल्ली प्रहरीले जन्तर–मन्तर क्षेत्रमा व्यापक सुरक्षा व्यवस्था गरेको छ।

    प्रदर्शनकारीहरूले निर्वाचन आयोगको कार्यशैली र स्पेसल इन्टेन्सिभ रिभिजन (एसआईआर) अन्तर्गत मतदाता नामावली पुनरावलोकन प्रक्रियामाथि प्रश्न उठाउँदै आएका छन् । उनीहरूले मतदाता नामावलीबाट योग्य मतदाताको नाम हटाइएको आरोप लगाउँदै मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गरेका छन् । निर्वाचन आयोगले भने एसआईआरको उद्देश्य मतदाता सूचीमा रहेका दोहोरो, अयोग्य वा अन्य त्रुटिपूर्ण नाम हटाउनु रहेको बताउँदै आएको छ।

    images

    शुक्रबार बिहान जंतर–मन्तरमा प्रदर्शनकारीहरू भेला हुन थालेपछि प्रहरीले क्षेत्रलाई चारैतिरबाट घेरा हालेको थियो। दिल्ली प्रहरीले प्रदर्शनका लागि अनुमति नदिएको र नयाँ दिल्ली जिल्लामा सार्वजनिक जमघट नियन्त्रणसम्बन्धी आदेश लागू गरिएको थियो । त्यसका बाबजुद विभिन्न समूहका प्रदर्शनकारीहरू जंतर–मन्तर पुग्ने प्रयास गरेका थिए।

    १०० भन्दा बढी प्रदर्शनकारी नियन्त्रणमा

    प्रहरीले जंतर–मन्तर क्षेत्र खाली गराउने क्रममा १०० भन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको प्रदर्शन आयोजक तथा स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरूलाई दिल्लीका विभिन्न प्रहरी कार्यालयमा लगिएको बताइएको छ। नियन्त्रणमा पर्नेमा आप कार्यकर्ता, यूथ कांग्रेसका सदस्य तथा वामपन्थी विद्यार्थी संगठनका कार्यकर्ता पनि छन्। आप दिल्ली अध्यक्ष सौरभ भारद्वाजलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

    प्रदर्शनकारीहरू जंतर–मन्तर रोड हुँदै प्रदर्शनस्थलतर्फ अघि बढ्न खोजेपछि प्रहरीले उनीहरूलाई पटक–पटक पछाडि हटाएको थियो । केही समूहले कनाट प्लेस, जनपथलगायत आसपासका क्षेत्रमा पनि प्रदर्शन जारी राखेका थिए। उनीहरूले ‘राजीनामा दे’ लगायतका नारा लगाएका थिए।

    प्रदर्शनलाई ध्यानमा राख्दै दिल्ली प्रहरीले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । जंतर–मन्तर जाने प्रमुख सडकहरूमा धेरै तहका ब्यारेकेड राखिएका छन् । सम्भावित ठूलो भीडलाई नियन्त्रण गर्न थप प्रहरी तथा अर्धसैनिक बलसमेत परिचालन गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

    प्रहरीले प्रदर्शनस्थल तथा आसपासको क्षेत्रमा ड्रोनबाट निगरानीसमेत गरेको छ । दिल्ली प्रहरीका वरिष्ठ अधिकारीहरूले सुरक्षा व्यवस्थाको निरीक्षण गरेका थिए । प्रदर्शनकारीलाई जंतर–मन्तर पुग्न नदिन संसद् मार्ग, जनपथ, कनाट प्लेसलगायत क्षेत्रमा यातायात व्यवस्थामा पनि प्रतिबन्ध र परिवर्तन गरिएको छ।

    यसैबीच दिल्ली मेट्रो रेल कर्पोरेसनले सुरक्षाका कारण राजधानीका महत्वपूर्ण मेट्रो स्टेसनहरूमा प्रवेश तथा बाहिरिने द्वार बन्द गरेको छ।

    ११ मेट्रो स्टेसन बन्द

    यसैगरी ११ वटा मेट्रो रेल स्टेसन बन्द गरिएको जानकारीमा आएको छ । राजीव चौक, सेन्ट्रल सेक्रेटेरियट, पटेल चौक, नयाँ दिल्ली र अन्य संवेदनशील क्षेत्रमा मेट्रो सेवा प्रभावित भएको छ । केही स्टेसनमा इन्टरचेन्ज सुविधा भने सञ्चालनमा राखिएको बताइएको छ।

    प्रदर्शनअघि नै दिल्ली प्रहरीले जंतर–मन्तर क्षेत्रमा सुरक्षाका कारण प्रवेशमा कडाइ गरेको थियो । प्रहरीले ठूलो संख्यामा मानिस जम्मा हुन सक्ने आकलन गर्दै अतिरिक्त सुरक्षा बल परिचालन गरेको थियो।

    राष्ट्रिय जनता दल (आरजेडी) सांसद मनोज झाले प्रदर्शनमाथि लगाइएको प्रतिबन्धको आलोचना गरेका छन् । उनले महात्मा गान्धी जयन्तीका दिन विरोध प्रदर्शन गर्न रोक लगाउनु उचित नभएको बताएका छन् । प्रदर्शनमा सहभागी नेताहरूले निर्वाचन आयोगको स्वतन्त्रता, मतदाता सूचीको पारदर्शिता र निर्वाचन प्रक्रियाप्रति जवाफदेहिताको माग उठाएका छन्।

    यसैबीच यही विषयलाई लिएर भारतका अन्य सहरमा पनि विरोध कार्यक्रम भएका छन् । दिल्लीमा जंतर–मन्तर र मुम्बईमा शिवाजी पार्क आसपास प्रदर्शनको आह्वान गरिएको थियो । प्रदर्शनकारी समूहहरूले ज्ञानेश कुमारको राजीनामासहित निर्वाचन आयोगको कार्यप्रणालीबारे थप जवाफदेहिता माग गरेका छन्।

    मतदाता नामावलीको एसआईआर प्रक्रियालाई लिएर सत्तापक्ष र विपक्षबीच विवाद भने चर्किँदै गएको छ । विपक्षी दल तथा प्रदर्शनकारीहरूले यस प्रक्रियाबाट योग्य मतदाता प्रभावित हुन सक्ने आशंका व्यक्त गरेका छन् । निर्वाचन आयोग र भारतीय जनता पार्टीले भने अनियमितता वा राजनीतिक पक्षपातको आरोप अस्वीकार गरेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार