काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बाढी तथा पहिरोबाट प्रभावित हिमाली जिल्ला मनाङको स्थलगत निरीक्षण गरेका छन् । प्रभावित क्षेत्रमै पुगेर त्यहाँको वास्तविक अवस्था, भौतिक क्षति र नागरिकको अवस्थाबारे जानकारी लिएका हुन्।
पाण्डेले स्थानीय तहका जनप्रतिनिधि, जिल्ला सुरक्षा समिति तथा प्रदेश मातहतका कार्यालय प्रमुखहरूसँग विपद् व्यवस्थापन र पुनर्निर्माणबारे छलफल गरे । केही दिनअघि ठाडो खोलामा आएको पहिरोले मस्र्याङ्दी नदी थुनिएको थियो।
‘अहिले पानी बगिरहेकाले तत्कालको जोखिम केही कम देखिए पनि खोलाघरमा थुप्रिएको ग्राभेल र ठूला ढुङ्गाका कारण बस्ती जोखिममा छ,’ उनले भने, ‘पक्की पुल पुरिएको छ । थप क्षति हुन नदिन खोलाघर खोल्ने प्रयास तीव्र गतिमा भइरहेको छ।’
स्थानीयले मुख्यमन्त्रीसमक्ष अवरुद्ध सडक तथा यातायात तत्काल खुलाउन, खानेपानी र खाद्यान्नको व्यवस्था गर्न तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गरिदिन माग गरेका थिए । पाण्डेले तत्काल गर्न सकिने काम प्रदेश र स्थानीय तहमार्फत अघि बढाइने बताए।
‘स्थानीय तह र प्रदेश सरकारको स्रोत तथा क्षमताले तत्काल गर्न सकिने अत्यावश्यक कामलाई हामी पहिलो प्राथमिकतामा राखेर अघि बढाउँछौँ,’ अघि भने, ‘प्रदेशको स्रोतबाट सम्भव नहुने ठूला तथा दीर्घकालीन कामका लागि भने संघीय सरकारसँग आवश्यक समन्वय गर्छौँ ।’ नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै जनजीवन सामान्य बनाउन सरकार लागि परेको उनको भनाइ थियो।
‘अहिलेको प्राथमिकता प्रभावित नागरिकको जीवन सहज बनाउने, अवरुद्ध सडक तथा पूर्वाधार सञ्चालन गर्ने र आवश्यक राहत तथा पुनःस्थापनाको व्यवस्था गर्ने नै हो,’ पाण्डे भन्छन्, ‘चाडपर्वको समय पनि नजिक रहेकाले स्थानीयको दैनिकी सहज बनाउन तत्काल गर्नुपर्ने कामलाई प्राथमिकतामा राखेका छौँ ।’ प्रदेश, स्थानीय तह, सुरक्षा निकाय र सम्बन्धित कार्यालयबीच समन्वय गरेर तत्काल गर्न सकिने काम अघि बढाइने उनले सुनाए।
विपद्को समयमा उद्धार, राहत, उपचार तथा पुनःस्थापनासँगै क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको उनले स्पष्ट पारे । यसअघि मुख्यमन्त्री पाण्डेले गत मंगलबार बागलुङ, म्याग्दी र पर्वत जिल्लाका बाढीपहिरो प्रभावित क्षेत्रहरूको समेत स्थलगत निरीक्षण गरेकी थिइन्।



