काठमाडौं । बैंकिङ कसुरसम्बन्धी एक दर्जन मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ओखलढुंगाको चम्पादेवी गाउँपालिका–३ घर भएर कोटेश्वर बस्ने शेरबहादुर मगर छन् । ४८ वर्षीय मगरलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको भक्तपुर शाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो।
१२ वटा बैंकिङ कसुरका मुद्दामा अदालतले उनलाई २ वर्ष १४ दिन कैद र ६२ लाख रुपैयाँ जरिवाना ठहर गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले बताए।
उनीविरुद्ध विभिन्न प्रहरी युनिट र काठमाडौं जिल्ला अदालतमा बैंकिङ कसुर र चेक अनादरका मुद्दा चलेका थिए । ती मुद्दामा ८ करोड ४२ लाख रुपैयाँ बिगो कायम भएको भेटिएको छ।
मगरलाई बिहीबार पक्राउ गरेर काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको एसपी कार्कीले जानकारी दिए । १२ वटा मुद्दामा अनुसन्धान भएर फैसला हुँदासम्म उनी फरार थिए।



