काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई जोखिमपूर्ण मुलुकको सूची (ग्रे लिस्ट) बाहिर निकाल्न सरकारले भगीरथ प्रयास गरिरहेको बताएका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औँ साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले नेपाललाई ग्रे लिस्टबाट चाँडोभन्दा चाँडो बाहिर निकाल्नको लागि अन्तर्राष्ट्रिय समुदायमा समेत पहल भइरहेको बताए । उनले सरकारले आफ्नो पक्षलाई बलियो ढङ्गले प्रस्तुत गर्न राष्ट्र बैंकका डेपुटी गभर्नर, महान्यायाधिवक्ता कार्यालयका सहमहान्यायाधिवक्तासहित ५–६ जनाको टोली नै परिचालन गरिएको पनि बताए।
उक्त टोली हाल मलेसियामा रहेर काम गरिरहेको अर्थमन्त्री वाग्लेको भनाइ छ । उनले एफएटीएफकै विषयमा अमेरिकी अर्थमन्त्रीसँग आफूले भेट गर्ने प्रयास गरिरहेको समेत बताए । नेपाल ग्रे लिस्टबाट समयमै बाहिरिन नसके त्यसको प्रत्यक्ष असर नेपालको अन्तर्राष्ट्रिय वित्तीय विश्वसनीयता, करेस्पोन्डेन्ट बैंकिङ, लगानी वातावरण र पुँजी प्रवाहमा समेत पर्ने भएको कारण सरकार गम्भीर भएर काम गरिरहेको उनको भनाइ छ।
उनले ग्रे लिस्टबाट बाहिर निस्कन सरकारले चालिरहेको कदमबारे अफवाह फैल्याउने कार्य भइरहेको पनि बताए। उनले प्राकृतिक विपदबाट भएको क्षति तथा पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय वित्तीय स्रोत परिचालनमा समेत सरकार केन्द्रित रहेको बताए । पुनर्निर्माणलाई पुरानै संरचना पुनःनिर्माण गर्ने अवसरका रूपमा मात्र नभई जलवायु उत्थानशील पूर्वाधार निर्माण गर्ने अवसरका रूपमा उपयोग गर्ने सरकारको नीति रहेको उनको भनाइ छ।
उनले भने, ‘फाइनान्सियल एक्सन टास्क फोर्स (एफटिएफ) को ग्रे लिस्टबाट नेपाललाई निकाल्नमा हाम्रो भगीरथ प्रयास चलिरहेको छ । यसैका लागि चालिएका केही कदमहरूबाट अलिकति अफवाहहरू पनि फैलिने गरेका छन्। त्यसमा सेजोन जस्तो जिम्मेवार संस्थाका सदस्यहरूले यसलाई जुन गम्भीरताका साथ उठाइदिनुपर्ने हो, त्यसै अनुरूप गरिदिनुहुन म अनुरोध पनि गर्न चाहन्छु । अहिले म यहाँ बोल्दाबोल्दै मलेसियामा हाम्रो टिमले काम गरिरहेको छ।’
उनले मुलुकको आर्थिक समृद्धिका लागि सरकार निजी क्षेत्रलाई सँगै लिएर काम गर्न खोजिरहेको बताए । उनले लगानीमैत्री वातावरण निर्माण गर्न आफूले अर्थमन्त्री भएकै दिनदेखि नीतिगत सुधारको काममा लागिपरेको पनि बताए।



