काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) मा नेपालमै पहिलो पटक मुटुदेखि मस्तिष्कसम्म रगत पुर्याउने प्रमुख अवरुद्ध धमनी चिरफार नगरी खोलिएको छ । धादिङकी २२ वर्षीया विपना मगरको रक्तनलीमार्फत गरिने अत्याधुनिक उपचार विधिबाट लामो समयदेखि अवरुद्ध धमनी खोलिएको हो।
टाकायासु आर्टेराइटिस नामक रोगका कारण विपनाको मस्तिष्कमा रगत पुर्याउने प्रमुख धमनीका शाखा लामो समयदेखि पूर्ण रूपमा बन्द थिए । त्यसमाथि मस्तिष्कको दायाँ मध्य धमनी अचानक बन्द हुँदा उनलाई मस्तिष्कघात भएको थियो।
एकै बिरामीमा लामो समयदेखि बन्द धमनी खोल्नुका साथै अचानक बन्द भएको धमनीमा जमेको रगतको डल्लो निकाल्नुपर्ने भएकाले उपचार चुनौतीपूर्ण रहेको चिकित्सकले बताएका छन्।
न्युरो इन्टरभेन्सन विशेषज्ञ डा. अरुण पौडेलको नेतृत्वमा उपचार गरिएको हो । उपचार टोलीमा डा. प्रवीण खत्री पनि संलग्न थिए । डा. पौडेलले भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानबाट स्नायुरक्तनली उपचारमा उच्च विशेषज्ञता हासिल गरेका छन्।
टाउको नखोली रक्तनली हुँदै गरिएको उपचारमा लामो समयदेखि बन्द रहेको धमनीलाई विशेष बेलुनको सहायताले फराकिलो पारिएको थियो । त्यसपछि रक्तनली खुला राख्न विशेष जाली राखेर रक्तसञ्चार पुनःस्थापित गरिएको थियो।
त्यसपछि मस्तिष्कको दायाँ मध्य धमनीमा अड्किएको रगतको डल्लो यान्त्रिक विधिबाट निकालिएको थियो । यससँगै मस्तिष्कमा पुनः रक्तप्रवाह गराइएको चिकित्सकले बताएका छन्।
उपचारकै क्रममा बिरामीमा उल्लेखनीय सुधार देखिएको डा. पौडेलले बताए । उपचारकक्षमै विपनाले चिकित्सकलाई धन्यवादसमेत दिएकी थिइन्।
‘लामो समयदेखि पूर्ण रूपमा बन्द भएको धमनी खोल्नुका साथै त्यही समयमा भएको मस्तिष्कघातको तत्काल उपचार गर्नुपर्ने अवस्था थियो,’ डा. पौडेलले भने, ‘यो केस मेरो ६ वर्षको उपचार यात्राकै स्मरणीय र चुनौतीपूर्ण घटनामध्ये एक हो।’
बिरामीको उपचार तथा थप व्यवस्थापनमा स्नायुरक्तनली उपचार, स्नायु रोग, बाथरोग, बेहोस पार्ने तथा सघन उपचार र मुटुरोग विशेषज्ञबीच समन्वय गरिएको थियो।
टाकायासु आर्टेराइटिस शरीरमा रगत बगाउने ठूला नलीमा समस्या गराउने दुर्लभ रोग हो । यसले रक्तनली साँघुरो वा बन्द गराउन सक्छ । त्यसका कारण मस्तिष्कलगायत विभिन्न अंगमा पर्याप्त रगत पुग्न समस्या हुने चिकित्सक बताउँछन्।
चिकित्सकका अनुसार आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र विभिन्न विशेषज्ञबीचको समन्वय भए नेपालमै जटिल मस्तिष्क तथा रक्तनलीसम्बन्धी उपचार सम्भव छ।
केएमसीका सञ्चालक तथा पूर्व सांसद् सुनीलकुमार शर्मा स्वास्थ्य उपचारलाई आम नागरिकको पहुँचमा पुर्याउने अभियानमा सक्रिय छन् । उनको पहलमा केएमसीले विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ।
केएमसीले विपन्न तथा असहाय बिरामीलाई निःशुल्क उपचार उपलब्ध गराउनेदेखि जटिल रोगका बिरामीको उपचारमा सहयोग गर्दै आएको जनाएको छ । पछिल्लो पटक भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको केएमसी अस्पतालमा निःशुल्क उपचार गर्ने घोषणा पनि शर्माले गरेका छन्।
जनप्रतिनिधि हुँदा पाउने तलब–भत्तासमेत नलिएका शर्मा विपद्का बेला प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन तथा उपचार सेवा पुर्याउने काममा समेत सक्रिय रहँदै आएका छन्।



