काठमाडौँ । नुवाकोटमा बाढी पीडितका लागि निःशुल्क मुख स्वास्थ्य शिविर तथा राहत वितरण गरिएको छ । डेन्टल साइन्स हाइजिनिस्ट एसोसिएसन अफ नेपालको आयोजना, नेपाल सिएमए संघ र सेवा इन्टरनेशनल नेपालको सहकार्यमा नुवाकोटको विदुर नगरपालिकास्थित विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका बाढी पीडितहरूका लागि निःशुल्क मुख स्वास्थ्य परीक्षण, सचेतना तथा स्वास्थ्य सामग्री वितरण कार्यक्रम सम्पन्न भएको हाे।
एसोसिएसनका अध्यक्ष माइकल देवकोटाको नेतृत्वमा खटिएको दन्त स्वास्थ्य टोलीले करिब ३०० जना बाढी पीडितको मुखकाे स्वास्थ्य परीक्षण गर्नुका साथै उनीहरूलाई दाँत माझ्ने सही तरिका, सरसफाइ र रोग रोकथामसम्बन्धी परामर्श दिँदै निःशुल्क ‘ओरल हाइजिन किट’ वितरण गरेको थियो।
यस्तै,मानवीय अभियानका क्रममा विनाशकारी बाढीबाट आफ्नो सम्पूर्ण सम्पत्ति र दन्त क्लिनिक गुमाएका एसोसिएसनका सदस्य श्रीहरि बोगटीलाई आर्थिक सहयोग समेत प्रदान गरिएको थियो।
विपत्तिमा परेका सहकर्मीको पुनरुत्थानका लागि एसोसिएसनका सदस्यहरूबाट सङ्कलित एक लाख राहत रकम हस्तान्तरण गरियो।



