काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकार संविधान, विधि र प्रक्रियाबाट चल्नुपर्नेमा पहुँचका आधारमा चल्न थालेको आरोप लगाएका छन्।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारलाई ‘जेन्जी आन्दोलन’ को मर्मअनुसार पारदर्शिता, सुशासन, विधिको शासन र भ्रष्टाचार अन्त्यका लागि गम्भीर भएर काम गर्न आग्रह गरेका हुन्।
विधिको लागि आन्दोलनमा उत्रेका युवाहरूको जगमा बनेको सरकारले आफैँ विधि मिच्न थालेको उनले बताए। नेपाल रेडक्रस सोसाइटीमा सरकारी हस्तक्षेप भएको आरोप लगाउँदै उनले यसलाई राजनीतिक शक्ति परीक्षण गर्ने थलो नबनाउन तथा वैधानिक प्रदेश र जिल्ला समितिमाथिको हस्तक्षेप रोक्न माग गरे। साथै विधान तथा कानुनअनुसार विशेष महाधिवेशनको वातावरण बनाई वैधानिक नेतृत्व चयन गर्न उनले सरकारसँग आग्रह गरे।
मलेसियामा रोजगारीका लागि सीमित २५ वटा वैदेशिक रोजगार व्यवसायी संस्था छनोट गर्ने तयारी भएकोप्रति पनि उनले आपत्ति जनाए। छनोटको मापदण्ड, संख्या र प्रक्रिया पारदर्शी बनाउन उनले माग गरे।
स्वास्थ्य बीमा कार्यक्रममा घरघर पुगेर नागरिकलाई जोड्ने दर्ता सहयोगीहरूले लामो समयदेखि प्रोत्साहन भत्ता नपाएको विषयमा पनि उनले सरकारको ध्यानाकर्षण गराए। नागरिकलाई स्वास्थ्य बीमामा जोड्ने व्यक्तिको आफ्नै श्रम असुरक्षित भएको टिप्पणी गर्दै प्रोत्साहन रकममा भइरहेको १५ प्रतिशत कर कट्टीको व्यवस्था पुनरावलोकन गर्न उनले माग गरे।
संसद्मा बोल्दै सचेतक राईले भने, ‘एउटा रेडक्रसको विषय, एउटा रोजगारीको विषय, अर्को स्वास्थ्य बीमाको; तर धागो एउटै छ। रेडक्रसको प्रसङ्ग संस्थाको स्वायत्तताको हो। रोजगारीको प्रश्न भनेको निष्पक्ष प्रतिस्पर्धाको हो। दर्ता सहयोगीको प्रश्नलाई हेर्ने हो भने श्रमको समानताको हो।’
यी समस्याहरूको सार उजागर गर्दै उनले थपे, ‘यी तीनवटै प्रश्नको मूल प्रश्न एउटै हो- राज्य विधिबाट चल्छ कि पहुँचबाट? संस्था नियमले चल्छ कि रुचिले? सरकार नागरिकको सेवामा छ कि सीमित स्वार्थको संरक्षणमा?’
सरकारका मन्त्रीहरूले पछिल्लो समयमा दिएका अभिव्यक्तिहरूप्रति पनि उनले असन्तुष्टि जनाए। गृहमन्त्री सुधन गुरुङले ‘हामी सिकाउन आएका हौँ’ भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै उनले प्रतिपक्ष सिक्न तयार रहेको बताए। तर विधि, प्रक्रिया, पद्धति, विधान, सहिष्णुता र सिद्धान्त मात्र सिक्न तयार रहेको उनको भनाइ छ।
सरकारको रवैयाप्रति प्रश्न उठाउँदै उनले भने, ‘हामी सिकाउन आएका हौँ भन्ने कुरा पनि सुनियो। हामी प्रतिपक्षी दल सधैँ सिक्न तयार छौँ। तर हामी संस्कार, विधि, प्रक्रिया, पद्धति, विधानसङ्गत कुरा, सहिष्णुता र सिद्धान्त सिक्न चाहन्छौँ।’
अराजक प्रवृत्तिको विरोध गर्दै उनले थपे, ‘यो पूर्वाग्रही भएर भनेको होइन। आलोचना र प्रश्न हामीले गर्नैपर्छ। तर अराजकता, साइबर बुलिङ, असहिष्णुता, पूर्वाग्रह, भ्रम र अहङ्कार हामी सिक्न आएका होइनौँ। विवादित धर्मगुरुहरूको सङ्गत हामी सिक्न आएका होइनौँ।’
प्रतिपक्षले सरकारको आलोचना र प्रश्न गर्न पाउनुपर्ने अधिकार रहेको बताउँदै अराजकता, साइबर बुलिङ, असहिष्णुता, पूर्वाग्रह र भ्रमलाई स्वीकार गर्न नसकिने स्पष्ट पारे।



