Oct 29 2026 | २०८३ कार्तिक १३ गते

माथिल्लो त्रिशूली-१ बाढी प्रभावित कामदारका परिवारलाई राहत र क्षतिपूर्ति दिन सुरु

माथिल्लो त्रिशूली-१ बाढी प्रभावित कामदारका परिवारलाई राहत र क्षतिपूर्ति दिन सुरु

बिहिवार, भाद्र २५ २०८३
  • काठमाडौँ । २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामा कार्यरत कम्पनीहरूले बाढीबाट प्रभावित कामदार तथा कर्मचारीका परिवारलाई तत्काल आर्थिक राहत र क्षतिपूर्ति उपलब्ध गराउन थालेका छन्।

    नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी (एनडब्लुइडिसी), मुख्य ठेकेदार कम्पनी डुसान इर्नबिलिटी र उपठेकेदारहरू एन्ड्रिट्ज तथा पावर चाइनाले प्रभावित परिवारलाई आर्थिक सहयोग दिन थालेका हुन्।

    images

    उक्त आर्थिक सहयोग सम्बन्धित कर्मचारीको बैंक खातामा वा प्रमाणित नजिकको हकदारलाई उपलब्ध गराइँदैछ। नजिकको हकदारले आफ्नो पहिचान प्रमाणीकरण तथा भुक्तानी प्रक्रिया अघि बढाउन सम्बन्धित ठेकेदार कम्पनीसँग सम्पर्क गरी आवश्यक समन्वय गर्न सक्नेछन्। तत्कालको आर्थिक राहतका अतिरिक्त एनडब्लुइडिसी तथा ठेकेदार कम्पनीहरूले बाढीबाट प्रभावित कामदार, कर्मचारी तथा बेपत्ता कामदारका परिवारलाई मनोसामाजिक परामर्श सेवा समेत उपलब्ध गराइरहेका छन्।

    तत्कालीन राहत प्याकेजका साथै आयोजनामा कार्यरत कम्पनीहरूले प्रभावित आफ्ना कामदार तथा कर्मचारीका लागि सान्दर्भिक कानुन र कम्पनीका नीतिअनुसार सहयोग तथा क्षतिपूर्ति प्याकेज तयार गर्ने प्रक्रिया अघि बढाएका छन्। घाइते अवस्थामा उद्धार गरिएका कामदारहरूको सफलतापूर्वक उपचार गरी अस्पतालबाट डिस्चार्ज गरिएको छ भने कम्पनीहरूले घाइतेको उपचारमा निरन्तर सहयोग गरिरहेका छन्।

    भदौ २३ गतेसम्मको अनुमानअनुसार ५१२ जना कामदार अझै बेपत्ता वा सम्पर्कविहीन अवस्थामा रहेका छन्। आयोजना स्थलमा पुग्न कठिनाइ हुनु नै त्यहाँ खोजी तथा उद्धार कार्यमा ढिलाइ हुनुको एउटा प्रमुख कारण बनेको छ।

    उद्धार तथा खोजी कार्यका लागि डुसानबाट थप २१ सदस्यीय उद्धार टोली भदौ २३ गते आयोजना स्थलको क्याम्पमा पुगिसकेको छ। टोलीले थप खोजी तथा उद्धार कार्यलाई सहज बनाउन अस्थायी क्याम्प स्थापना गर्न मिल्ने स्थानहरूको पहिचान गर्ने कार्य सुरु गरेको छ।

    एनडब्लुइडिसी तथा यसका ठेकेदार कम्पनीहरूले जारी खोजी तथा उद्धार कार्यमा सुरक्षा निकाय तथा नेपाली उद्धार टोलीहरूको प्रयासलाई निरन्तर सहयोग गरिरहेका छन्। उद्धार कार्यलाई सहज बनाउन कम्पनी तथा ठेकेदारहरूले सुरक्षा निकायलाई आवश्यक सामग्री उपलब्ध गराउँदै आएका छन्। खोजी तथा उद्धार कार्यलाई थप तीव्र बनाउन कम्पनीले ठूला उपकरणहरू हवाई माध्यमबाट आयोजना स्थलसम्म पुर्‍याउने प्रक्रिया सुरु गर्नेछ।

    डुसान, एन्ड्रिट्ज र पावर चाइनाका प्रतिनिधिहरू कामदार तथा कर्मचारीका परिवारबाट प्राप्त हुने प्रश्न तथा सुझावका लागि उपलब्ध रहनेछन्। जारी खोजी तथा उद्धार कार्यलाई सहयोग गर्न कम्पनीहरूले आफ्नो तर्फबाट सम्भव भएसम्म सबै आवश्यक प्रयास जारी राख्ने जनाएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार