Oct 29 2026 | २०८३ कार्तिक १३ गते

‘सुत्केरी श्रीमतीलाई खाना पकाउन ग्यास नपाएपछि आत्महत्याको प्रयास गर्ने घटनाको नैतिक जिम्मेवारी सरकारले लिनुपर्छ’

‘सुत्केरी श्रीमतीलाई खाना पकाउन ग्यास नपाएपछि आत्महत्याको प्रयास गर्ने घटनाको नैतिक जिम्मेवारी सरकारले लिनुपर्छ’

बिहिवार, भाद्र २५ २०८३
  • काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रेमबहादुर वयकले ग्यास अभावका कारण नागरिकले भोग्नुपरेको समस्याप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

    बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सुत्केरी श्रीमतीलाई खाना पकाएर खुवाउन ग्यास नपाएपछि एक युवाले आत्महत्याको प्रयास गरेको घटनासमेत उल्लेख गर्दै त्यसको नैतिक जिम्मेवारी सरकारले लिनुपर्ने बताएका हुन्।

    images

    काठमाडौँलगायत विभिन्न स्थानमा विद्यार्थी तथा सर्वसाधारणले खाना पकाउने ग्यास नपाएर सांसदहरूलाई फोनमार्फत सहयोग माग्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ। आपूर्ति व्यवस्थापनमा देखिएको कमजोरी र लापरबाहीप्रति प्रश्न उठाउँदै उनले सरकारसँग तत्काल समस्या समाधान गर्न माग गरे। पानीमा भिज्दै सिलिन्डर बोकेर ग्यासको लाइनमा बस्नुपर्ने अवस्था कहिलेसम्म रहने भन्दै उनले प्रश्न गरे।

    संसद्‌मा बोल्दै सांसद वयकले भने, ‘ग्यास अभाव भएर सुत्केरी श्रीमतीलाई खानासम्म खुवाउन नसक्ने अवस्था सिर्जना भएको नैतिक जिम्मेवारी सम्बन्धित मन्त्री र सरकारको हो कि होइन?’

    आपूर्ति मन्त्रालयको कार्यशैलीमाथि प्रश्न उठाउँदै उनले थपे, ‘आज काठमाडौँलगायत स्थानमा कोठा भाडामा लिएर बसेका विद्यार्थी र सर्वसाधारणले ग्यास नपाएपछि सांसदहरूलाई फोन गर्नुपर्ने अवस्था आउनु आपूर्ति मन्त्रीको लापरबाही र कमजोरी हो।’

    नागरिकको सास्तीबारे बोल्दै उनले भने, ‘पानीमा भिज्दै सिलिन्डर लिएर विद्यार्थी र सर्वसाधारण नागरिकहरूको लाइन कहिलेसम्म भोकभोकै लागिराख्नुपर्ने हो सरकार?’

    उनले जेनजी आन्दोलनका आधारमा बनेको सरकारमाथि पनि नागरिकमा निराशा बढ्दै गएको बताए। हिजो ‘बोल्न देऊ सरकार’ भन्दै आन्दोलन गर्नेहरू नै सरकारमा पुगेपछि प्रश्न उठाउनेहरूप्रति खबरदारीको भाषा प्रयोग गर्न थालेको आरोप उनले लगाए। संविधानले सुनिश्चित गरेको वाक् स्वतन्त्रताको अधिकार कुनै व्यक्तिविशेषलाई हेरेर नभई सबै नागरिकका लागि समान रूपमा हुनुपर्ने उनको धारणा छ।

    सरकारको रवैयाप्रति आपत्ति जनाउँदै उनले भने, ‘हिजो बोल्न देऊ सरकार भन्नेहरू नै आज सरकारको नेतृत्वमा हुनुहुन्छ। आज सरकारका प्रतिनिधिहरू प्रश्न गर्नेहरूलाई सभाबाट खबरदारीको भाषा प्रयोग गर्दै गरेको सुनियो। जनताका अगाडि कसैको झूठ अभिव्यक्ति र धम्की टिक्ने छैन।’

    वाक् स्वतन्त्रताबारे बोल्दै उनले थपे, ‘खबरदार, संविधानले व्यवस्था गरेको वाक् स्वतन्त्रताको अधिकार कुनै विशिष्ट व्यक्तिको अनुहार हेरेर राखिएको होइन। यो हिजो पनि थियो, आज पनि छ, भोलि पनि रहनेछ।’

    यस्तै उनले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका क्रममा कैलालीका विभिन्न स्थानका ३४ जना मैलुङ खोला हाइड्रोपावरको २१६ नम्बर ड्यामबाट बेपत्ता भएको उल्लेख गर्दै उनीहरूको तत्काल खोजी तथा उद्धार कार्य तीव्र बनाउन सरकारसँग माग गरे।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार