काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारीले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुन:स्थापनाका लागि एक महिनाको पारिश्रमिक सहयोग गर्ने भएकी छन्।
उपसभामुख रुबी कुमारीले आफ्नो एक महिनाको पारिश्रमिक नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न संघीय संसद् सचिवालयको प्रशासन शाखालाई भनेकी हुन्।
बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुन:स्थापनाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको उपसभामुखको सचिवालयले जनाएको छ।
यसअघि नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका सांसदहरूले तलबबाट बाढी पीडितलाई सहयोग गर्ने गरी निश्चित रकम जम्म गरिदिन संसद् सचिवालयलाई आग्रह गर्दै पत्र लेखेका छन्।
यसमा नेपाली कांग्रेसका प्रतिनिधिसभा तर्फका ३८ जना र राष्ट्रिय सभातर्फका २४ जना सांसद रहेका छन्
प्रतिनिधिसभामा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले एक महिनाको तलब सहयोग गर्ने भएका छन्। साथै कांग्रेसका सांसदहरू गंगालक्ष्मी अवाल, रुक्मिणी देवी कोइराला प्रकाश सिंह कार्की र मोहन आचार्यले एक/एक महिनाको तलब सहयोग गर्ने भएका छन्।
कांग्रेसका सांसद टेकबहादुर गुरुङले एक लाख सहयोग गर्ने भएका छन् । एक महिनाको तलबबाट नपुग्ने भएकाले उनले एक महिनाको पुरकै तलब र बाँकी अर्को महिनाको तलबबाट कटाउन भनेका छन्।
बाँकी कांग्रेसका सांसदहरू सबैले १५ दिनको तलब सहयोग गर्ने भएका छन्।
नेकपा एमालेका सांसद मोहम्मद इश्तियाक राईले एक महिनाको तलब सहयोग गर्ने भनेर संसद् सचिवालयलाई पत्र लेखेका छन् । बाँकी एमालेका सांसदहरूले १५ दिनको तलब सहयोग गर्ने भएका हुन्।
एमालेको प्रतिनिधिसभामा २५ जना र राष्ट्रिय सभामा १० जना सांसद छन्। नेपाली कम्युनिस्ट पार्टीका सांसदहरूले पनि १५ दिनको तलब सहयोग गर्ने भएका छन्।
संसद् सचिवायलाई पत्र लेखेर नेकपाले सांसदहरूसँगै उनीहरूका स्वकीयको १५ दिनको तलब पनि बाढी पीडितलाई सहयोग गर्ने उल्लेख गरेका छन्। नेकपाको प्रतिनिधिसभा र राष्ट्रिय सभामा १७/१७ जना सांसद रहेका छन्।



