काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएका आन्तरिक विवाद र मतभेदका विषयलाई संवादको माध्यमबाट समाधान गरिने बताएका छन् । नेपाली कांग्रेस भक्तपुरले बुधबार आयोजना गरेको कार्यक्रममा देउवाले लोकतान्त्रिक अभ्यासमा आन्तरिक बहस र फरक मत हुनु स्वाभाविक भएको बताए।
देउवाले भने– ‘पार्टीभित्र सानातिना मतभेद हुनु सामान्य हो, तर तिनलाई लिएर विवाद गरिरहनु हुँदैन। हामी सबैको साझा उद्देश्य पार्टीलाई थप सशक्त बनाउने हो। त्यसका लागि म सम्बन्धित पक्षहरूसँग छलफल गरी विवाद हल गर्न तयार छु।’
उनले कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउनु अहिलेको आवश्यकता भएको भन्दै कार्यकर्ताहरूलाई संयमित रहन आग्रह गरे । ‘पार्टीभित्रको विवाद समाधान गर्न हामी संवादको बाटो अपनाउँछौँ। म सबै साथीहरूलाई आग्रह गर्छु– आन्तरिक समस्यालाई पार्टीभित्रै बसेर छलफल गरी टुङ्ग्याउनुपर्छ,’ देउवाले भने।
पार्टीभित्रको असन्तुष्ट पक्षलाई सम्बोधन गर्दै देउवाले भने ‘म सबैको कुरा सुन्न तयार छु। कांग्रेसका साथीहरूको भावना बुझेर म अगाडि बढ्नेछु। विवादले कसैलाई फाइदा गर्दैन, त्यसैले सबै समस्यालाई छलफल र सहमतिका आधारमा हल गर्ने मेरो प्रतिबद्धता छ।’
सभापति देउवाले लोकतान्त्रिक पार्टीमा मतभेद हुनु र त्यसलाई व्यवस्थापन गर्दै अघि बढ्नु नै पार्टीको शक्ति भएको भन्दै आन्तरिक विवादलाई छिट्टै समाधान गरी पार्टीलाई थप सुदृढ बनाउने बताए।



