Oct 29 2026 | २०८३ कार्तिक १३ गते

जलेकै एक वर्षमा धरानको भाटभटेनी पुनः संचालन

जलेकै एक वर्षमा धरानको भाटभटेनी पुनः संचालन

बुधवार, भाद्र २४ २०८३
  • काठमाडौँ  । गत वर्षको भदौ २४ गते आगजनी,  तोडफोड र लुटपाटपछि ध्वस्त भएको सुनसरीको धरानस्थित पुतलीलाइनमा रहेको भाटभटेनी सुपर स्टोर एक वर्षपछि आजदेखि पुनः सञ्चालनमा आएको छ।

    पुनः सञ्चालनअघि वैदिक परम्पराअनुसार पूजा गरिएको थियो। भाटभटेनीकी सञ्चालक सावित्री घले गुरुङले पूजा गरेपछि स्टोरको पुनः शुभारम्भ गरिएको व्यवस्थापक विनोद भट्टराईले जानकारी दिए।

    images

    २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा देशका विभिन्न स्थानमा रहेका भाटभटेनीका स्टोर तोडफोड, लुटपाट र आगजनीको निशानामा परेका थिए। त्यसक्रममा धरानको पुतलीलाइनस्थित स्टोरमा समेत आगजनी हुँदा भवन, सामान तथा अन्य पूर्वाधारमा ठूलो क्षति पुगेपछि बन्द गरिएको थियो।

    जेनजी आन्दोलनका क्रममा कोशी प्रदेशमा रहेका धरान, विराटनगर, बिर्तामोड र दमकका भाटभटेनी स्टोर प्रभावित भएका थिए। विराटनगर र बिर्तामोड शाखा यसअघि नै मर्मत तथा पुनर्निर्माणपछि सञ्चालनमा आइसकेका छन्। धरान शाखा पनि बुधबारदेखि खुलेसँगै कोशी प्रदेशमा क्षति पुगेका चारमध्ये तीनवटा स्टोर सञ्चालनमा आएका छन्।

    दमक शाखाको पुनर्निर्माण भने अन्तिम चरणमा रहेको र त्यसलाई पनि चाँडै सञ्चालनमा ल्याउने तयारी भइरहेको भट्टराईले जानकारी दिए।

    काठमाडौंको नक्सालस्थित मुख्य स्टोर पनि यही असोजमा सञ्चालनमा ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ। बाँकी क्षतिग्रस्त स्टोरको पुनर्निर्माण पनि जारी रहेको छ । भाटभटेनीका २७ शाखा मध्ये हालसम्म २३ वटा शाखा संचालनमा आएका छन् । जेनजी आन्दोलनका क्रममा भाटभटेनीका १२ वटा शाखा पूर्ण रुपमा जलेका थिए भने १० अर्ब बढीको क्षति भएको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार