काठमाडौँ । ‘जेनजी आन्दोलन’का सहिदको सम्झनामा मंगलबार राजधानीको नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा विवादित धर्मगुरुको उपस्थितिलाई लिएर विवाद उत्पन्न भएको छ । धर्मगुरु बालयोगेश्वर विजय कृष्णमूर्ति (विजय भण्डारी) र श्रीनिवास आचार्यको सहभागितालाई लिएर चौतर्फी प्रश्न उठेको हो।
कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने कानुन मन्त्री सोबिता गौतम, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन, पूर्वाधार मन्त्री सुनिल लम्साललगायतको उपस्थिति थियो।
सोही कार्यक्रममा विवादित धर्मगुरुहरू मन्त्रीहरूभन्दा अगाडि मञ्चमा बसेका थिए । उनीहरूको सहभागिताको विषय बाहिरिएसँगै सामाजिक सञ्जाल र सार्वजनिक वृत्तमा विरोध र टीकाटिप्पणी सुरु भएको हो । यो विवादको विषयमा रास्वपाकै सांसद अमरेश कुमार सिंहले समेत प्रश्न उठाएका छन् । यस्तै महामन्त्री विपिन आचार्यलगायतले पनि प्रश्न उठाएका छन्। उक्त कार्यक्रम ‘जेनजी शहीद परिवार कल्याणकारी समाज’को आयोजनामा भएको बताइएको छ।
उक्त संस्थाका कार्यकारी सचिव रोशन गौतमले कार्यक्रममा सबैलाई समेट्ने प्रयास गर्दा यो स्थिति आएको स्पष्टीकरण दिएका छन् । ‘हामीले सबै धर्म, सबै सम्प्रदायका मानिसहरूलाई समेट्न खोजेका हौं । विशेषगरी धर्मगुरुहरूले शान्तिको सन्देश दिनुहुन्छ भनेर बोलाएका थियौँ,’ कार्यकारी सचिव गौतमले बुधबार रातोपाटीसँग भने, ‘हामीले राजनीतिक दलबाहेक सबै क्षेत्रलाई बोलाउने क्रममा उहाँहरूलाई पनि बोलाएका थियौँ । तर मञ्चमा जसरी व्यवस्थापन भयो, त्यो हाम्रै कमजोरी भयो।’
गौतमले बौद्ध, इसाई र इस्लाम धर्मगुरुहरूलाई पनि बोलाएको भन्दै पृष्ठभूमिबारे आफूहरूलाई जानकारी नभएको दाबी गरे । उनले यसबारे पत्रकार सम्मेलन गर्न लागिएको समेत बताए।
‘हामीले धर्मगुरु सोचेर बोलाएका थियौँ, धार्मिक मानिस अपराधसँग जोडिएको होला भन्ने सोचेनौँ । आजै हामी यो विषयमा पत्रकार सम्मेलन गरेर जानकारी दिन्छौँ,’ रातोपाटीसँग गौतमले भने । विजय भण्डारी धार्मिक कार्यक्रमका नाममा ठगी तथा वैदेशिक रोजगारीसम्बन्धी कसुरमा विवादित छन् भने श्रीनिवास आचार्य विगतमा आफैंमाथि गोली चलाउन लगाएर साम्प्रदायिक तनाव भड्काउन खोजेको कारण विवादित बनेका पात्र हुन्।



