काठमाडौं । जेनजी शहीदहरूको सम्झनमामा आज देशभर स्मृति दिवस मनाइँदै छ। यसै क्रममा नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनको प्रांगणमा जेनजी शहीद कल्याणकारी समाजले स्मृति दिवस कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा सहभागी हुन सरकारका विभिन्न मन्त्रीहरूसहित सांसदहरूको समेत सहभागीता रहेको छ। कार्यक्रममा सहभागी हुन पुगेका जेनजी शहीदका परिवारहरूले शहीदहरूको सम्झनामा दीप प्रज्वलन र माल्यार्पण गरेका छन्।
सो क्रममा अधिकांश आफन्तहरू भावुक बने । धेरैका आँखाबाट आँशु बगे। केहीबेर नयाँ बानेश्वरस्थित पुरानो संसद् भवन परिसरको दृश्य भावविह्वल बन्न पुगेको हो।
जेनजी आन्दोलन भएको २३ भदौको दिनलाई ‘जेनजी शहीद दिवस’ घोषणा गर्दै आज देशभरि सार्वजनिक बिदा दिएको छ।
२३ भदौमा संघीय राजधानी काठमाडौंमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो । सो घटनाको विरोधमा २४ भदौमा मुलुकभर प्रदर्शन भएको थियो।
दुई दिनको प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीसमेत गरेर ७६ जनाको मृत्यु भएको थियो भने सरकारी तथा निजी भौतिक संरचनामाथि आगजानी समेत भएको थियो।



