काठमाडौं । ‘जेनजी सहिद दिवस’का अवसरमा नेपालस्थित अमेरिकी र बेलायती दूतावासले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ।
नेपालमा पहिलोपटक मनाइएको जेनजी सहिद दिवसका अवसरमा अमेरिकी दूतावासले सन्देश जारी गर्दै नेपाली युवाको समृद्ध एवं आशाजनक भविष्यको आकांक्षाप्रति सम्मान व्यक्त गरेको छ।
दूतावासले हालै देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति समेत सहानुभूति व्यक्त गरेको छ । कठिन परिस्थितिमा नेपाललाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउँदै दूतावासले साझा शोकको यस घडीमा अमेरिका नेपाली जनताको अटल मित्र र साझेदारका रूपमा साथमा रहेको जनाएको छ।
सन्देशमा भनिएको छ, ‘यो स्मृति दिवस हालैका विनाशकारी बाढीपश्चात् विश्वभरका विभिन्न समुदाय नेपालसँगै शोकमा रहेको समयमा आएको छ । साझा शोकको यस घडीमा अमेरिका नेपालका जनताको अटल मित्र तथा साझेदारका रूपमा अडिग छ।’
सरकारले भदौ २३ गते (सेप्टेम्बर ८) लाई ‘जेनजी सहिद दिवस’का रूपमा मनाउने निर्णय गर्दै देशभर सार्वजनिक बिदासमेत दिएको छ । आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको बलिदानलाई स्मरण गर्दै देशभर विभिन्न श्रद्धाञ्जली कार्यक्रम आयोजना भइरहेका छन्।
यस्तै, काठमाडौंस्थित बेलायती दूतावासले पनि जेनजी सहिद दिवसका अवसरमा श्रद्धाञ्जली सन्देश जारी गरेको छ। सन् २०२५ सेप्टेम्बरमा भएको युवा आन्दोलनका क्रममा ज्यान गुमाएका नेपाली युवाको सम्झनामा बेलायतले गहिरो दुःख व्यक्त गरेको हो।
दूतावासले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाका परिवार तथा प्रियजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
सन्देशमा भनिएको छ, ‘सन् २०२५ सेप्टेम्बरका घटनाहरूका क्रममा ज्यान गुमाउने युवाहरूको सम्झनामा आयोजित ‘जेनजी सहिद दिवस’का अवसरमा हामी उहाँहरूका परिवार र प्रियजनहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ।’
स्मरण र आत्मसमीक्षाको यस घडीमा बेलायत सधैँ नेपाली जनताको साथमा रहने प्रतिबद्धता समेत दूतावासले जनाएको छ।



