Oct 29 2026 | २०८३ कार्तिक १३ गते

चाडपर्वको मुखमा आपूर्ति शृङ्खला टुट्ने र कालोबजारी बढ्ने खतरा

चाडपर्वको मुखमा आपूर्ति शृङ्खला टुट्ने र कालोबजारी बढ्ने खतरा

मंगलवार, भाद्र २३ २०८३
  • काठमाडौँ । नेपालीहरूको ठुला चाडपर्वहरू नजिकिँदै गर्दा उत्पन्न प्राकृतिक विपद्का कारण दैनिक उपभोग्य वस्तुको आपूर्तिमा गम्भीर असर पर्ने देखिएको छ । भोटेकोशी नदीमा आएको बाढी र पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध भएपछि सिर्जना भएको असहज परिस्थितिप्रतिको गम्भीर ध्यानाकर्षण गराउँदै उपभोक्ता जागरण अभियान–नेपालले नेपाल सरकारसँग प्रभावकारी बजार नियमन र वस्तु तथा सेवाको सहज आपूर्तिको जोडदार माग गरेको छ।

    भक्तपुरको लोकन्थलीमा सम्पन्न उपभोक्ता जागरण अभियान–नेपालको पाँचौं वार्षिक साधारणसभा तथा तेस्रो राष्ट्रिय अधिवेशनले यसै विषयलाई प्राथमिकताका साथ उठाउँदै एक महत्वपूर्ण निर्णय पारित गरेको हो । सूचना आयोगका पूर्वप्रमुख आयुक्त एवं नेपाल सरकारका पूर्वसचिव कृष्णहरि बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अधिवेशनले चाडपर्वको समयमा हुन सक्ने कालोबजारी, कृत्रिम अभाव र अनुचित व्यापारीਕ क्रियाकलापलाई रोक्न कडा कदम चाल्न सरकारलाई आग्रह गरेको छ।

    images

    अधिवेशनले पारित गरेको निर्णयमा भनिएको छ, ‘नेपालीहरूको सानाठूला चाडपर्वको पूर्वसन्ध्यामा भोटेकोशीमा आएको बाढी र पृथ्वी राजमार्गको कृष्णभीरमा भएको बाटोको अवरोधले दैनिक अत्यावश्यक वस्तुको आपूर्ति शृङ्खलामा असर परी वस्तु र सेवाको आपूर्तिमा असहज परिस्थिति उत्पन्न भएको  छ। यसबाट कालोबजारी र कृत्रिम अभाव जस्ता अनुचित व्यापारीक क्रियाकलाप हुनसक्ने हुँदा नेपाल सरकारलाई प्रभावकारी नियमन र वस्तु तथा सेवाको सहज आपूर्ति व्यवस्थापनका लागि जोडदार अनुरोध गर्दछौं।’

    विपद्का कारण यातायातका मुख्य मार्गहरू अवरुद्ध हुँदा बजारमा खाद्यान्नलगायतका अत्यावश्यक वस्तुको मूल्यवृद्धि र अभाव हुन नदिनतर्फ नियामक निकायहरू सचेत हुनुपर्नेमा अधिवेशनले जोड दिएको छ।

    यसैबीच, सोही अधिवेशनले कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ को अध्यक्षतामा शुक्रबार १५ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति समेत सर्वसम्मत चयन गरेको छ । साधारणसभाले बाढी प्रभावित क्षेत्रका नागरिकप्रति गहिरो समवेदना प्रकट गर्दै राहत र पुनर्स्थापनामा सरकारलाई सघाउने र बजारमा उपभोक्ता अधिकार संरक्षणका लागि देशैभर सचेतनामूलक अभियान तीव्र पार्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार