Oct 29 2026 | २०८३ कार्तिक १३ गते

देउवासँग भेटेर कुरा गर्न चाहेको छु, तर समय पाएको छैन : गगन थापा

देउवासँग भेटेर कुरा गर्न चाहेको छु, तर समय पाएको छैन : गगन थापा

मंगलवार, भाद्र २३ २०८३
  • काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले हरसम्भव प्रयास गर्दा पनि निवर्तमान सभापति शेरबहादुर देउवालाई भेट्ने समय नपाएको बताएका छन्।

    आइतबार र सोमबार बसेको पार्टीको कार्यसम्पादन समिति बैठक बसेको थियो । जसमा सभापति थापाले सोमबार पार्टीका पदाधिकारी र सदस्यहरूले राखेका धारणा र प्रश्नको जवाफ दिने क्रममा त्यस्तो बताएका हुन्।

    images

    सभापति थापाले भदौ ५ गते शुक्रबार देउवाका स्वकीय सचिव भानु देउवालाई टेलिफोन गरेर भेट्नका लागि समय मागेका थिए । तर थापाले भेट्नका लागि आफूले समय नै नपाएको ब्रिफिङ गरेको एक पदाधिकारीले जानकारी दिए।

    ‘म सबै पार्टीलाई मिलाएर अगाडि बढ्नुपर्छ भन्ने पक्षमा छु । त्यसका लागि मैले निवर्तमान सभापतिसँग भेटेर कुरा गर्न चाहेको छु । समय पाएको छैन,’ सभापति थापाको भनाइ उद्धृत गर्दै ती पदाधिकारीले रातोपाटीसँग भने।

    देउवासँग समय नपाएपछि आफूले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग शनिबार साँझ र नेता डा. शेखर कोइरालासँग आइतबार भेटेको पनि बैठकमा जानकारी गराएका थिए । भेटमा इतर समूहले राख्दै आएका मागका विषयमा कुराकानी भएको थापाको भनाइ थियो।

    थापाले इतर समूहले राख्दै आएको प्रमुख माग भन्दै १५ औँ महाधिवेशनका लागि भन्दै नवीकरण गरेका क्रियाशील सदस्यलाई डिजिटल्ली अद्यावधिक गर्ने विषयलाई अनिवार्य नगर्ने निर्णय प्रस्ताव गरेका थिए । त्यो प्रस्ताव बैठकले स्विकार्दै निर्णय गरेको छ । तथापि बैठकपछि जारी विज्ञप्तिमा त्यो विषय उल्लेख छैन।

    तर, कांग्रेस प्रवक्ता देवराज चालिसेले क्रियाशील सदस्यता अद्यावधिक नगरेकालाई सर्तसहित महाधिवेशनमा सहभागी गराउने निर्णय भएको बैठकपछि सञ्चारकर्मीहरूसँग बताएका थिए।

    बैठकमा आगामी असोज १६ गतेदेखि १९ गतेसम्मका लागि तोकिएको १५ औँ महाधिवेशनको मिति एक महिना जति सारेर भए पनि पार्टीमा सबैलाई मिलाउनु पर्ने प्रस्ताव आएको थियो । नेता अर्जुननरसिंह केसीले महाधिवेशनको मिति कात्तिकसम्म सारेमा पार्टीमा सहमति हुने र त्यसको नेतृत्व आफूले लिने बताएका थिए । तर, केसीको त्यो प्रस्ताव भने सभापति थापाले स्विकारेनन्।

    केन्द्रीय महाधिवेशनको मिति सर्वोच्च अदालतका कारणले आफूले सार्न नसक्ने थापाले बताएका थिए । सर्वोच्चमा आफूहरूले जवाफ पेस गर्दा असोज १६ देखि १९ गतेसम्म पार्टीको १५ औँ महाधिवेशन गर्ने उल्लेख गरेकाले सार्न नसक्ने बताएको अर्का बैठकमा सहभागी नेताले बताए।

    तथापि १५ औँ महाधिवेशन अन्तर्गतका तल्ला तहका अधिवेशनको मिति भने परिमार्जन हुने भएको छ । भदौ २४ गते वडा अधिवेशन सुरु गर्ने निर्णय परिमार्जन गर्ने निर्णय बैठकको छ।

    केन्द्रको महाधिवेशन नसर्ने गरी तल्लो तहका अधिवेशन गर्ने परिमार्जित कार्यतालिका ल्याउने जिम्मेवारी बैठकले पार्टीको निर्वाचन समितिलाई दिएको छ । निर्वाचन समितिको बैठक आजका लागि आह्वान भएको छ।

    त्यो बाहेक बैठकमा महाधिवेशन गर्नका लागि पार्टी विधानमा बाधा अड्काउ फुकाउने विषयमा पनि निर्णय भएको छ। महाधिवेशन गर्नका लागि बाधा नपर्ने गरी कसरी बाधा अड्काउ फुकाउने भन्ने विषयमा कानुनका जानकारसँग छलफल गरेर विज्ञप्ति जारी गरिने केन्द्रीय कार्यालयले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार