काठमाडौं । भारतको पश्चिम बंगालस्थित माल्दा जिल्लामा गंगा नदीको तीव्र कटानका कारण झन्डै १७५ वर्ष पुरानो शिव मन्दिर ढलेको छ । रातुआ क्षेत्रमा रहेको मुनिरामटोला शिव मन्दिर आइतबार साँझ गंगा नदीमा खसेको हो।
स्थानीयका अनुसार मन्दिर गत वर्षदेखि नै नदी कटानको जोखिममा थियो । मन्दिर जोगाउन अस्थायी सुरक्षात्मक कामसमेत गरिएको थियो।
तर, शनिबार नदी किनारको ठूलो हिस्सा कटान भएपछि आइतबार साँझ गंगाले मन्दिरको सम्पूर्ण संरचना बगायो। स्थानीय विद्यालय शिक्षक आलोक मण्डलका अनुसार उनीहरूको बाल्यकालमा मन्दिरबाट गंगा नदी करिब १५ किलोमिटर टाढा थियो । मन्दिर भक्तजनका लागि निकै लोकप्रिय रहेको र त्यहाँ लाग्ने साप्ताहिक बजारमा छिमेकी बिहारबाट समेत हजारौँ मानिस आउने गरेको उनले बताए । माल्दा जिल्लाका अन्य क्षेत्रमा पनि बाढी र नदी कटानले ठूलो क्षति पुर्याएको छ।
मनिकचक ब्लकअन्तर्गत पर्ने भूतनी टापु सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक बनेको छ । त्यहाँको एकमात्र स्थानीय अस्पतालसमेत बन्द गर्नुपरेको छ भने प्राथमिक स्वास्थ्य सेवा पञ्चायत कार्यालयबाट सञ्चालन गरिएको छ । भूतनीका गर्भवती महिलालाई मनिकचकका दुई विद्यालय भवनमा सारिएको छ। सेप्टेम्बर २ को राति तटबन्ध भत्किएपछि भूतनी टापुमा पानी पसेको थियो । त्यसपछि तीन पञ्चायतअन्तर्गतका कम्तीमा ६२ गाउँ डुबानमा परेका छन् । स्थानीय प्रहरी चौकीसमेत डुबानमा परेको छ।
सन् २०२५ मा ६ करोड ५० लाख भारु खर्चेर बनाइएको तटबन्ध भत्किएपछि यसको निर्माण गुणस्तरमाथि पनि प्रश्न उठेको छ । स्थानीय विधायक गौर मण्डलले तटबन्ध कमजोर बनेको आरोप लगाउँदै यसका लागि अघिल्लो टीएमसी सरकारलाई जिम्मेवार ठहराएका छन् । बाढी तथा कटान प्रभावित क्षेत्रमा उद्धार र राहतका काम तीव्र पारिएको छ। पश्चिम बंगाल सरकारका मन्त्रीहरू समेत प्रभावित क्षेत्रमा पुगेर अवस्थाको निरीक्षण गरिरहेका छन्।



