Oct 29 2026 | २०८३ कार्तिक १३ गते

बाढी पहिरो प्रभावित क्षेत्रमा प्रदेश सरकारले राहत र उद्धारलाई तीव्रता दिएको छ : मुख्यमन्त्री थापामगर

बाढी पहिरो प्रभावित क्षेत्रमा प्रदेश सरकारले राहत र उद्धारलाई तीव्रता दिएको छ : मुख्यमन्त्री थापामगर

सोमवार, भाद्र २२ २०८३
  • काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले हालै आएको बाढी पहिरो तथा महाविपत्तिबाट प्रभावित क्षेत्रहरूमा प्रदेश सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाको   कामलाई तीव्रता दिएको बताएका छन्।

    काठमाडौँस्थित प्रदेश सुशासन केन्द्रको हलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री थापाले बागमती प्रदेशका विशेष गरी चार जिल्ला—रसुवा, नुवाकोट, धादिङ र चितवनका १५ वटा पालिकाहरू बाढी पहिरोबाट बढी प्रभावित भएको जानकारी दिए।

    images

    मुख्यमन्त्री थापाले भदौ १० गते बिहान ८ः ४६ बजे रसुवाको लेन्दे नजिकै हिमनदी फुटेर आएको भीषण बाढीका कारण ठुलो क्षति पुगेको बताए । रसुवाका गोसाईंकुण्ड, आमाछोदिङ्मो, कालिका र उत्तरगया गाउँपालिका बाढीबाट बढी प्रभावित भएका छन् । तीमध्ये गोसाईंकुण्ड र उत्तर गयामा स्वास्थ्य चौकी, अस्पताल, पालिका भवनका साथै जनप्रतिनिधि तथा सर्वसाधारणको समेत ज्यान जाने गरी ठुलो मानवीय र भौतिक क्षति भएको छ।

    त्यसैगरी नुवाकोटको विदुर नगरपालिका, बेलकोटगढी, किस्पाङ र तारकेश्वर तथा धादिङका गल्छी, सिद्धलेक, गजुरी र बेनिघाट रोराङ गाउँपालिकामा पनि क्षति पुगेको छ । मुख्यमन्त्री थापाले बाढी पहिरोका कारण ७ हजारभन्दा बढी मानिस प्रभावित भएको, ६६२ मेगावाटभन्दा बढी क्षमताका ६ वटा हाइड्रोपावरहरू बन्द तथा क्षतिग्रस्त भएको र खर्बौँको भौतिक क्षति भएको जानकारी दिए।

    विपत्ति लगतै १० गते बिहान ११ बजे नै प्रदेश विपत् व्यवस्थापन समितिको बैठक बसेर उद्धारमा टोली खटाइएको मुख्यमन्त्री थापाले बताए । उनी स्वयम् ४ बजे नुवाकोटको बट्टार पुगेर चार वटा प्रादेशिक अस्पतालका १०० भन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीसहित हेल्थ क्याम्प सञ्चालन गराएका थिए।

    घरबारविहीन भएका र आफन्त गुमाएका पीडितहरूका लागि तत्काल चार वटा सेल्टर (अस्थायी बासस्थान) निर्माण गरी गाँस र बासको व्यवस्था गरिएको उनले बताए । यस्तै, अलपत्र परेका १५ सयभन्दा बढी यात्रु, भक्तजन तथा श्रमिकहरूलाई प्रदेश सरकारको समन्वयमा बसमार्फत निःशुल्क काठमाडौँसम्म ल्याउने व्यवस्था मिलाइएको जानकारी दिए।

    बाटो खुलाउन र राहतका लागि बजेट घोषणा

    अवरुद्ध बनेका सडकहरू सञ्चालन गर्न भौतिक पूर्वाधार मन्त्रालय मातहतका पूर्वाधार विकास कार्यालयमार्फत नुवाकोट र रसुवा दुवैतर्फ मेसिनहरू परिचालन गरी वैकल्पिक मार्ग निर्माण भइरहेको मुख्यमन्त्री थापाले जानकारी दिए । प्रदेश विपत् व्यवस्थापन कोषबाट विपत् प्रभावित जिल्लाहरूलाई तत्काल राहत रकम उपलब्ध गराउने निर्णय गरिएको छ।

    उनका अनुसार रसुवा जिल्लामा १ करोड रुपैयाँ,  नुवाकोटका लागि १ करोड, धादिङ ५० लाख र चितवनका लागि ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको हाे।

    उक्त रकम स्थानीय विपत् व्यवस्थापन समितिमार्फत खर्च हुनेछ । साथै, बाढीमा ज्यान गुमाएका मृतकहरूको शव व्यवस्थापन तथा सदगद्का लागि प्रति शव २५ हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराइने घोषणा समेत गरिएको छ।

    मुख्यमन्त्री थापामगरले यो अकल्पनीय दुर्घटना भएकाले सङ्घ, प्रदेश र स्थानीय तीनै तहका सरकारहरूले एकापसमा समन्वय र सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए । ‘अहिले आरोप–प्रत्यारोप गर्ने समय होइन, तीन वटै सरकारले आ–आफ्नो जिम्मेवारी अनुसार पीडितको घाउमा मलहम लगाउनुपर्छ,’ उनले भने।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार