Oct 29 2026 | २०८३ कार्तिक १३ गते

समाचार

शक्तिराष्ट्रहरूको कूटनीतिक प्राथमिकतामा रवि लामिछाने

शक्तिराष्ट्रहरूको कूटनीतिक प्राथमिकतामा रवि लामिछाने

अमेरिकामात्रै होइन, अरु मूख्य शक्तिराष्ट्रहरूले कूटनीतिक प्रोटोकलभन्दा बढ्ता सम्पर्क पहुँच, अनि शक्ति कतापटि छ भन्ने आधारमा कुराकानी गर्ने गरेको देखिन्छ।

सोमवार, भाद्र २२ २०८३
  • काठमाडौं । भारत, चीन, अमेरिकाजस्ता शक्तिराष्ट्रहरूको कूटनीतिक रोजाइमा सत्तारुढ रास्वपाका सभापति रवि लामिछाने देखिएका छन्।

    प्रधानमन्त्री तथा रास्वपा वरिष्ठ नेता बालेन शाहसँग ती देशका राजदूतहरूको संवाद सुरु भए पनि उच्च तहको कुराकानीमा पार्टी सभापति लामिछाने बढ्ता सक्रिय देखिएका हुन्।

    images

    आज सोमबार अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सभापति लामिछानेसँग टेलिफोन वार्ताक्रममा रसुवा बाढीले पुर्‍याएको अथाह क्षतिप्रति दुःख व्यक्त गरे । रास्वपा स्रोतका अनुसार अमेरिकी विदेशमन्त्रीले नेपाललाई अमेरिकी सहयोग प्राथमिकतापूर्वक निरन्तर रहने आश्वासन दिएका छन्।

    रास्वपा सभापति लामिछानेले अमेरिकी सरकारलाई नेपालको क्षति अनि यसले ल्याएको कठिन घडीप्रति दुःख व्यक्त गरेकामा आभार व्यक्त गरेका छन्।

    यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २० जेठमा लामिछानेलाई नयाँ दिल्लीमा निमन्त्रणा गरेर भेटवार्ता गरेका थिए । लामिछानेले आफ्नो पार्टीको तर्फबाट प्रतिनिधिमण्डलसहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, सत्तारुढ भाजपाका शीर्ष नेताहरूसँग संवाद गरेका थिए।

    लामिछानेको भ्रमणलगत्तै परराष्ट्रमन्त्री शिशिर खनालको भ्रमण भएको थियो । प्रधानमन्त्री शाहसँग भारतीय राजदूत नवीन श्रीवास्तवलगायत अरु कूटनीतिज्ञहरूले एक्लाएक्लै भेट नपाएको सन्दर्भमा लामिछानेसँग उच्च तहको कुराकानी भएको थियो । पछि भने भारतीय तथा चिनियाँ राजदूतले प्रधानमन्त्री शाहसँग छुट्टाछुट्टै कुराकानी गरेका थिए ।

    यस्तै चिनियाँ पक्षले पनि लामिछानेलाई अगस्टमा भ्रमण गर्न निमन्त्रणा गरेको थियो । लामिछानेले आन्तरिक कारण देखाउँदै यसलाई सेप्टेम्बर दोस्रो साताका लागि सारेका थिए । भ्रमणको अनौपचारिक सेड्युल बनेपछि औपचारिकता पाउन बाँकी थियो । त्यसैबीचमा भोटेकोशीको बाढी, तथा अन्य कारणले उक्त भ्रमण हाल स्थगित छ । रास्वपा स्रोतले उपयुक्त समयमा, सम्भवतः छिटै उक्त भ्रमण सम्पन्न हुने जानकारी दिएको छ।

    ‘चिनियाँ राष्ट्रपतिज्यूसँगको भेटवार्ताको सुनिश्चितता लगायत विषय, अनि केही अर्थपूर्ण एजेन्डाको तयारी आदिले भ्रमण रोकिएको हो, तर सभापतिज्यु बेइजिङ जाने विषयलाई लिएर सकारात्मक नै हुनुहुन्छ,’ रास्वपा स्रोतले भन्यो।

    अमेरिकी विदेशमन्त्रीले सरकारको उच्च तहमा निर्णायक अर्थ दिनेगरी संवाद गर्न चाहेकाले सभापति लामिछानेसँग कुरा सम्भव भएको उच्च स्रोतको भनाइ छ । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघीय महासभा बैठकका लागि न्युयोर्क जाने तयारीमा छन् । उनले त्यहाँ विश्वनेताहरूसँग आफ्ना कुरा राख्ने, त्यसअनुसार भेटवार्ताहरू तय हुने बताइएको छ । तर अहिलेसम्म त्यसको सम्पूर्ण कार्यसूची आइसकेको छैन।

    रविलाई अमेरिकी विदेशमन्त्रीको फोन, नेपाललाई थप सहयोग गर्न अमेरिका तयार

    अमेरिकास्थित नेपाली दूतावास, अनि परराष्ट्र मन्त्रालयले यसको तयारी गरिरहेको बुझिएको छ । कूटनीति अध्येता तथा पत्रकार सुधीर शर्मा रास्वपा सभापति लामिछानेले पाएको यो महत्वलाई शक्तिराष्ट्रहरूको स्वाभाविक सम्बन्ध राख्ने चरित्रसँग दाँजेर विश्लेषण गर्छन् । लामिछाने सत्तारुढ दलको शक्तिशाली सभापति हुनुका अलावा प्रधानमन्त्री शाहको सहज पहुँचमा नरहने शैली पनि यसको कारक भएको उनको व्याख्या छ।

    ‘अमेरिकामात्रै होइन, अरु मूख्य शक्तिराष्ट्रहरूले कुटनीतिक प्रोटोकलभन्दा बढ्ता सम्पर्क पहुँच, अनि शक्ति कतापटि छ भन्ने आधारमा कुराकानी गर्नेगरेको देखिन्छ, सभापति लामिछानेसँगका भेट र फोन कुराकानीलाई त्यसकै परिणामका रुपमा लिनुपर्ने हुन्छ,’ पत्रकार शर्माले भने, ‘प्रधानमन्त्री शाह सहजै उपलब्ध हुनुहुन्न । अनि छिटै राष्ट्रसंघ महासभामा जाने कुरा पनि छ । अमेरिकाको निम्तोमा उहाँ नगए पनि त्यो भ्रमण अमेरिकी भूमिमै हुने भएकाले पनि अहिले सभापति लामिछानेसँग कुरा हुनु स्वाभाविक छ।’

    यसअघि फागुनको चुनावमा रास्वपाको विशाल विजयलगत्तै भारतीय प्रधानमन्त्री मोदीले बालेनसँगै लामिछानेसँग पनि कुरा गरेका थिए । अरु कतिपय देशहरूले पनि सभापति लामिछानेलाई महत्व दिएर संवाद अघि बढाइरहेको बुझिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार