काठमाडौँ । एकातिर कक्षाकोठाको कालोपाटी र अर्कोतिर सडकको लाम छ। काठमाडौँको एउटा साँघुरो गल्लीमा बिहानै ग्यास पाइने आशमा शनिबारदेखि खाली सिलिन्डर कुर्दै कक्षा ५ का मनिष बस्नेत लाइनमा बसेका छन्।
सडकको पेटीभरि सयौँ राता एलपीजी सिलिन्डरहरू फलामे सिक्री र ताल्चाले एकअर्कामा बाँधिएका छन्। मानौँ कुनै कैदीको लस्कर उभिएको होस्। त्यही लस्करको बीचमा एउटा बालक बसेको छ।
सामान्य दिन हुन्थ्यो भने यतिबेला मनिष विद्यालयको पोशाकमा सजिएर कक्षाकोठाको बेन्चमा साथीहरूसँग गणितका हिसाब जोड्दै वा नेपालीका कविता वाचन गर्दै हुन्थे। आज उनको दैनिकी कालोपाटीको अगाडि होइन, सडकमा लामबद्ध ग्यास सिलिन्डरको अगाडि सुरु भएको छ।
घरको चुलो निभेको छ। त्यो चुलो बाल्ने एउटा सिलिन्डर पाउन मनिष शनिबारदेखि सडकको अनन्त लाममा बस्न बाध्य छन्।
आफ्नो व्यथा सुनाउँदै मनिषले भने, ‘ग्यास छैन। ग्यास पाएन। ग्यास छैन भनेकाले स्कुल नि जान पाएन।’ एक दिनको छुट्टी लिएर आएको बताउँदै उनले थपे, ‘अब ग्यास आएन भने फेरि मेरो ग्यासको पछाडिको मान्छेले आफ्नो अगाडि लान्छन्।’

ग्यासको अभाव रहेको उल्लेख गर्दै उनले अगाडि भने, ‘यो जुन नेता आए नि यो ग्यासको चाहीँ लाइन बस्नुपर्ने कहिले हट्दैन। शनिवारदेखि बसिरहेको, आएको छैन। अब मंगलबारसम्म आउँछ बसिराख्नु भनेको छ। म पाँच कक्षामा पढ्छु।’
मनिषका यी शब्दहरू केवल एउटा बालकको गुनासो मात्र होइनन्। यो देशको सिंगो राज्य संयन्त्र र नागरिकका आधारभूत आवश्यकता पूरा गर्न नसक्ने नेतृत्वमाथिको तीतो प्रहार हो।
बालबालिकाले भविष्यका सपना देख्नुपर्ने र नयाँ ज्ञान सिक्नुपर्ने उमेरमा मनिषले सानैमा बेग्लै अनुभव हासिल गरेका छन्। यदि आफ्नो सिलिन्डर नहेरी एकछिन अन्तै गइयो भने पछाडिको मान्छेले आफ्नो सिलिन्डर अगाडि तानिदिन्छ भन्ने पाठ उनले सिकेका छन्। अभाव र असुरक्षाले एउटा कलिलो मनलाई पनि स्वार्थ र प्रतिस्पर्धाको कठोर नियम बुझ्न बाध्य बनाएको छ।
शनिबारदेखि सुरु भएको यो पर्खाइ सोमबारसम्म आइपुग्दा मनिषको सहनशीलताको परीक्षा लिइरहेको छ। आइतबार साँझसम्म पनि डिपोको सटर खुलेन। भोलि बिहानै गाडी आउँछ भनिएपछि मनिषले आइतबार राति आफ्ना आमाबुबासँग सल्लाह गरे। घरमा आमाबुबा ज्यालामजदुरी र काममा जानैपर्ने बाध्यता छ। कोही लाइनमा नबस्ने हो भने चार दिनको पर्खाइ व्यर्थ हुने खतरा थियो। अन्ततः मनिषले विद्यालयमा एक दिनको बिदा लेखाउने निधो गरे।

त्यो एक दिनको बिदा अहिले अनिश्चित बनेको छ। एक दिनको बिदा अब चार दिनको गैरहाजिरीमा बदलिँदै छ। मनिषको कापीमा शिक्षकले दिएका प्रश्नहरू अनुत्तरित छन्। सिंहदरबारको वातानुकूलित कोठाबाट मन्त्री र आयल निगमका हाकिमहरू बजारमा ग्यासको कुनै अभाव नरहेको र एक हप्तामा सबै सामान्य हुने दाबी गर्छन्। कोही लाइन बस्नु नपर्ने र उपभोक्ता आत्तिनु नपर्ने आश्वासन उनीहरू दिन्छन्।
शनिबारदेखि सोमबारसम्म लाइन बस्दा पनि सिलिन्डर हात परेको छैन। सयौँ मिटरसम्म सिलिन्डरलाई सिक्री-ताल्चाले बाँधेर बालबालिकासमेत पहरा दिन विवश छन्। ग्यास नपाउँदा विद्यालय जाने बालबालिकाको पढाइ छुटिरहेको छ।
मंगलबारसम्म ग्यास आउला वा नआउला, त्यो समयले बताउला। केही थान ग्यासका सिलिन्डर आए पनि मनिषको यो खोसिएको सोमबार कहिल्यै फर्किने छैन। उनको मस्तिष्कमा कोरिएको यो अविश्वासको घाउ कुनै सरकारी वक्तव्यले पुछ्न सक्नेछैन। जब देशको भविष्य मानिएका बालबालिकालाई कक्षाकोठाबाट तानेर ग्यासको लाममा उभ्याइन्छ, तब कुनै पनि देश समृद्ध हुन सक्दैन।



