Oct 29 2026 | २०८३ कार्तिक १३ गते

माथिल्लो त्रिशूली–१ मा बाढीको कहरः ५५७ कामदार सम्पर्कविहीन, प्रभावित परिवारलाई राहत दिइने

माथिल्लो त्रिशूली–१ मा बाढीको कहरः ५५७ कामदार सम्पर्कविहीन, प्रभावित परिवारलाई राहत दिइने

सोमवार, भाद्र २२ २०८३
  • काठमाडौँ । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत तीनवटै कम्पनीले भदौ १० गते आएको अभूतपूर्व बाढीबाट प्रभावित कामदार तथा कर्मचारीका परिवारका लागि राहत प्याकेज तयार गर्ने भएका छन्।

    नेपाल वाटर एन्ड इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी (एनडब्लुइडिसी) तथा आयोजनाका ठेकेदार र सब–कन्ट्र्याक्टर कम्पनीहरूले प्रभावित परिवारको आधारभूत जीवनयापनमा सहयोग पुग्ने गरी राहत प्याकेज तयार गरिरहेका हुन्।

    images

    बाढीपछि तत्काल राहत घोषणा गर्न ढिलाइ भएको जनाउँदै कम्पनीले खोज तथा उद्धार कार्यलाई पहिलो प्राथमिकतामा राखेर सुरक्षा निकायसँग आवश्यक समन्वय र सहयोग गर्दै आएका कारण राहत प्याकेज घोषणा प्रक्रिया केही पर सरेको जनाएको छ।

    आयोजनाका अनुसार बाढी आएको समयमा विभिन्न स्थलमा करिब १ हजार ४३३ जना कामदार तथा कर्मचारी कार्यरत थिए । शनिबारसम्म ८७६ जनाको उद्धार भइसकेको छ भने ५५७ जना अझै सम्पर्कविहीन रहेको कम्पनीले जनाएको छ।

    भदौ २० गते शनिबार आयोजनास्थलमध्येको एक स्थानबाट एक जना चिनियाँ कामदारको उद्धार भएपछि भग्नावशेषमा अझै फसिरहेका सम्भावित व्यक्तिको खोजी तथा उद्धारका लागि सुरक्षा निकायलाई सहयोग थप सुदृढ गरिएको एनडब्लुइडिसीले जनाएको छ।

    कम्पनीले बाढीका समयमा आयोजनाका विभिन्न स्थलमा कार्यरत सबै व्यक्ति तथा कर्मचारीको विवरण संकलन गरिरहेको छ । उनीहरूको अवस्थाबारे यकिन जानकारी प्राप्त भएपछि सम्बन्धित परिवारलाई आधिकारिक रूपमा जानकारी गराइने बताइएको छ।

    आयोजनामा इन्जिनियरिङ, खरिद तथा निर्माण (ईपीसी) ठेकेदार दुसान एनरबिलिटी तथा सब–कन्ट्र्याक्टर पावर कन्स्ट्रक्सन कर्पोरेसन चाइना र एन्र्डीच हाइड्रोमार्फत ठूलो संख्यामा कामदार कार्यरत थिए । ती कम्पनीहरूले पनि आफ्ना कामदार तथा कर्मचारीको अवस्थाबारे यथार्थ जानकारी प्राप्त गर्न खोज तथा उद्धारलाई निरन्तरता दिइरहेका छन्।

    विभिन्न स्रोत तथा सरकारी निकायबाट प्राप्त सूचनाको आधिकारिक पुष्टि भएपछि मात्रै सम्बन्धित परिवारलाई जानकारी गराइने कम्पनीहरूले बताएका छन्।

    एनडब्लुइडिसीले बाढीबाट प्रभावित कामदार, कर्मचारी तथा उनीहरूका परिवारले भोग्नुपरेको पीडा र अन्यौलप्रति संवेदनशील रहेको जनाएको छ । कम्पनीले जारी खोज तथा उद्धार कार्यमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै विपत्तिमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।

    कम्पनीले घटनाको निरन्तर अनुगमन गर्दै कामदार तथा कर्मचारीको अवस्थाबारे प्राप्त अद्यावधिक जानकारी आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्ने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार