काठमाडौँ । लामो समयदेखिको आर्थिक मन्दी र हालैको भीषण बाढीका कारण शिथिल बनेको नेपाली अर्थतन्त्रलाई पुनः गतिशील बनाउन अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले रणनीतिक योजना अघि सार्न लागेको बताएका छन्।बीबीसीसँगको अन्तर्वार्तामा अर्थमन्त्री वाग्लेले नेपालको अर्थतन्त्रलाई सङ्कटबाट बाहिर निकाल्न सरकारले स्पष्ट रोडम्याप तयार पारेको बताएका हुन्।
मन्दीका कारण समस्यामा परेको निजी क्षेत्र र विपद्ले थपेको चुनौतीलाई सम्बोधन गर्न अर्थमन्त्रीले ५ वटा मुख्य प्राथमिकताका क्षेत्रहरूलाई प्राथमिकतामा राखेर काम गर्ने योजना रहेको उल्लेख गरे।
बिजनेस रिकभरी प्याकेज
बाढीबाट प्रभावित क्षेत्रका साना तथा ठूला व्यवसायीहरूलाई राहत दिन मन्त्रिपरिषद्बाट बिजनेस रिकभरी प्याकेज पारित भइसकेको छ । यसले सङ्कटमा परेका उद्योगी–व्यवसायीलाई पुनः उठ्न मद्दत गर्ने उनको विश्वास छ।
पुँजी बजारमा सुधार
सेयर बजारलाई व्यवस्थित र सुदृढ बनाउन सरकारले विशेष सुधार योजना ल्याएको छ । लगानीकर्ताको मनोबल उच्च राख्दै पुँजी बजारलाई पारदर्शी र भरपर्दो बनाउनु यसको मुख्य उद्देश्य रहेको उनको भनाइ छ।
निजी क्षेत्रको पुनरुत्थान
निजी क्षेत्रको सक्रियता बिना अर्थतन्त्र चलायमान नहुने भन्दै सरकारले आर्थिक सहुलियत र लगानी प्रोत्साहनका प्याकेजहरू ल्याएको छ । यसले थलिएको बजारमा नयाँ उत्साह भर्ने विश्वास गरिएको छ।
एफ.ए.टी.एफ.ग्रे सूचीबाट बच्ने रणनीति
नेपाललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी अन्तर्राष्ट्रिय ग्रे सूचीबाट जोगाउन सरकारले द्रुत गतिमा काम गरिरहेको जनाए। यसका लागि आवश्यक कानुनी र संरचनात्मक सुधारलाई प्राथमिकता दिइएको उल्लेख गरेका छन्।
अन्तर्राष्ट्रिय स्रोत व्यवस्थापन
विपद्का कारण भएको क्षतिको यकिन मूल्याङ्कन गरी पुनर्निर्माणका लागि आवश्यक ठुलो लगानी जुटाउन सरकारले अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूसँग समन्वय गरिरहेको छ । वैदेशिक सहायता र अनुदानलाई उत्पादनशील क्षेत्रमा केन्द्रित गर्ने अर्थमन्त्रीको योजना छ।
अर्थमन्त्री डा.वाग्लेले नेपाल अहिले चुनौतीपूर्ण मोडमा भए पनि सरकारको सही हस्तक्षेप र अन्तर्राष्ट्रिय समुदायको सहयोगले अर्थतन्त्र चाँडै लयमा फर्कने विश्वास व्यक्त गरेका छन्।
‘हामी केवल सङ्कट टार्न मात्र होइन, अर्थतन्त्रको संरचनामै सुधार गरेर दिगो विकासको बाटोमा जान प्रतिबद्ध छौँ,’ उनले भने।



