काठमाडौँ । भोटेकोसी नदीमा आएको अकल्पनीय बाढीमा परी अकालमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई नीलकण्ठ नगरपालिकाले ४० हजार रुपैयाँ राहत दिन थालेको छ।
नीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिले मृतकका आफन्त एवं परिवारजनको घरमै पुगेर सहयोग रकम प्रदान गर्न थालेका हुन्।
भोटेकोसीको बाढीमा नीलकण्ठ नगरपालिकाका ३८ जना परेको प्रारम्भिक विवरण प्राप्त भएको नगरपालिकाले जनाएको छ।
तीमध्ये केहीको मृत्यु पुष्टि भइसकेको छ भने केही अझै सम्पर्कविहीन छन्। केही परिवारले बेपत्ता आफन्त जीवित भेटिने सम्भावना नरहेको ठहर गर्दै अन्तिम काजकिरियासमेत सुरु गरेका छन्।
सम्पर्कविहीन नागरिकको खोजीका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको नगरपालिकाले जनाएको छ।



