काठमाडौँ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुगेका नेपाली कम्युनिस्ट पार्टी(नेकपा)को केन्द्रीय खोज उद्धार राहत समन्वय समिति नै गुमान देखिएको छ । भदौ १० गते भोटेकोशी–त्रिशूलीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा जनधनको व्यापक क्षति भएको थियो।
त्यसैदिन बसेको नेकपा केन्द्रीय संयोजन समितिको आकस्मिक बैठकले खोज, उद्धार तथा राहत वितरणलाई प्रभावकारी बनाउन बागमती प्रदेशका इन्चार्ज डा.गंगालाल तुलाधारको संयोजकत्वमा समन्वय समिति गठन गरेको थियो । समितिमा बागमती, उपत्यका विशेष, सम्पर्क प्रदेश र प्रभावित क्षेत्रका जिल्ला इन्चार्ज रहेका छन्।
तुलाधरको टोली बिहीबार सबैभन्दा बढी प्रभावित जिल्ला रसुवा–नुवाकोटतर्फ प्रस्थान गरेका थिए । तर, चार दिन बितिसक्दा पनि फिल्डमा पार्टीको उपस्थिति कतै देखिएको छैन । बाढी आएको दिनदेखि नै भातृ संगठन योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) को उपस्थिति देखिएको छ । पार्टीको केन्द्रीय संयोजन समितिसँग वाइसीएलको समन्वय नभएको अध्यक्ष पुष्प वलीले जानकारी दिए।
‘हामी आफ्नै हिसाबले फिल्डमा खोजी, उद्धार र राहतमा खटिएका छौँ । उहाँहरू छुट्टै जानुभएको होला’,वलीले भने।
बाढी प्रभावित क्षेत्रमा वाइसीएलले ११ दिनसम्म गरेको कार्य प्रगतिबारे आइतबार संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई ब्रिफिङ गरेका थिए । बाढी प्रभावित क्षेत्रमा पार्टीको उपस्थिति कमजोर रहेकोमा प्रचण्डले असन्तुष्ट व्यक्त गरेका थिए।
‘विपद्को बेला वाइसिएलको उपस्थिति राम्रो देखियो । तर पार्टीले गरेको कामको प्रचार हुन सकेन । अलि गम्भीर ढङ्गले लाग्नुपर्यो’, प्रचण्डको भनाइ उद्धृत गर्दै वलीले भने।
यस विषयमा प्रवक्ता प्रकाश ज्वालासँग जानकारी लिँदा समन्वय समिति प्रभावित क्षेत्रमा गएको तर के कति काम भइराखेको भन्नेबारे आफूलाई थाहा नभएको बताए।
‘काठमाडौँबाट बिहीबार रसुवा–नुवाकोट जानुभएको हो । फिल्डमै काम गरिरहनुभएको होला । खोज, उद्धार र राहतमा के–के काम भइराखेको छ, थाहा छैन । एक पटक उहाँलाई नै फोन गरेर सोध्नुहोला’, प्रवक्ता ज्वालाले भने।
नेकपाले अहिलेसम्म उद्धार र राहतमा गरेको प्रगतिबारे जानकारी लिन संयोजक तुलाधरसँग सम्पर्क गर्दा फोन उठेन। नेकपाका अहिले वाइसीएल र अनेरास्वविय (क्रान्तिकारी) को छुट्टा–छुट्टै टोली परिचालित भएको बताएको थियो।
यसै विषयमा छलफल गर्न संयोजक प्रचण्डले अहिले केन्द्रीय संयोजन समितिको बैठक बोलाएका छन् । केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा विपदमा परेका नागरिकका उद्धार र राहतमा भएका कामको समीक्षा तथा आगामी योजनाबारे छलफल हुने प्रवक्ता ज्वालाले बताए।



